मध्य पहाडी राजमार्गमा पहिरैपहिरो, सवारी सञ्चालनमा समस्या



बुद्ध नेपाली, सिन्धुली ।

दुई/तीन दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध छ । शुक्रबार उदयपुरको घुर्मीदेखि सिन्धुलीको खर्कोटसम्म धेरै ठाउँमा खसेको पहिरो पन्छाउन समय लागेकाले राजमार्ग अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

वर्षाका कारण खसेको पहिरो शुक्रबार बिहानैदेखि पन्छाउन थालिएको भए पनि अझै पन्छाइनसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गोलन्जोर गाउपालिका–२ को कालीआँप र हैबारस्थित अक्करे भीरमा ठूलो पहिरो खसेकाले स्काभेटर र जेसीभी लगाएर पहिरो पन्छाउने प्रयास भइरहेको सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । कालीआँप, अक्करभीर लगायत खुर्कोटसम्म नै ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने उहाँको भनाइ छ ।

यो समाचार तयार पार्दासम्म उदयपुरको घुर्मीदेखि गोलन्जोर गाउँपालिका–२ को कालीआँपसम्मको पहिरो पन्छाएर एकतर्फी गाडी सञ्चालन भएको छ । ‘धेरै ठाउँमा पहिरो खसेको छ । अहिलेसम्म पहिरो पन्छाउने प्रयास भइरहेको छ । ठूलो पहिरो भएको ठाउँमा पन्छाउन समय लाग्ने भएकाले सडक खुलाउन कति समय लाग्छ भन्न सकिने अवस्था छैन् ।’ –प्रहरी नायव उपरीक्षक लामाले भन्नुभयो ।
पहिरोका कारण ओखलढुंगा, खोटाङ, उदयपुरलगायतका जिल्लाबाट आएका सवारीसाधन र यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

ओखलढुंगा, खोटाङ, उदयपुरलगायतका ठाउँबाट आएका ७० भन्दा बढी सवारीसाधन अहिले कालीआँपमा अलपत्र परेर रहेका यात्रु अशोक काफ्लले जानकारी दिनुभयो । पहिरो पन्छाउने प्रयास भइरहे पनि एकतर्फी सडक खुलाउनै पनि धेरै समय लाग्ने देखिएको उहाँले बताउनुभयो । वर्षाका कारण शुक्रबार बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग पनि अवरुद्ध भएको थियो । यी राजमार्गहरु शुक्रबार नै पहिरो पन्छाएरपछि सञ्चालनमा आएका छन् । जिल्लाका अधिकांश ग्रामीण सकड पूरै अवरुद्ध भएको छ ।

सदरमुकायम सिन्धुलीमाढी र विभिन्न स्थानीय तहहरु जोडिने सबै सडक अवरुद्ध भएको छ । सदरमुकाम र तीनपाटन गाउँपालिका जोड्ने सिन्धुली–चकमके सडक, घ्याङलेख गाउँपालिका र सदरमुकाम जोडिने सडक पनि पहिरोका कारण अवरुद्ध छ । पहिरो पन्छाउने प्रयास भइरहेको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्