सगरमाथा भेगमा वर्षायाममा बर्सेनि सास्ती


लीला सुनुवार, ओखलढुंगा ।

वर्षायाममा माथिल्लो सगरमाथा भेगमा रहेका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट काठमाडौंलगायत विभिन्न ठाउँमा यात्रा गर्ने यात्रुले वर्षादका कारण बर्सेनि सास्ती खेप्नुपरेको छ ।

वर्षेनि वर्षातको समयमा मध्यपहाडी लोकमार्ग सडक खण्डअन्तर्गत सिन्धुली जिल्लाको विभिन्न ठाउँमा पहिरो आउने समस्याका कारण यात्रुहरूले बर्सेनि सास्ती खेप्नुपरेको छ । सुनकोशी नदीको किनारै किनार भएर सञ्चालनमा रहेको मध्यपहाडी लोकमार्ग भिरालो भूभागमा रहेका कारण ठाउँ ठाउँमा पहिरो जाने र सडकभन्दा माथिल्लो भागमा खनिएको सहायक सडकका कारण वर्षायाममा वर्षातहुँदा लेदो आएर सडक थुनिने भएका कारण वर्षातको समयमा यात्रा गर्ने यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।

वर्षातको समयमा मध्यपहाडी लोकमार्ग सडक खण्डमा यात्रा गर्ने यात्रुहरू पहिरोको कारणले मात्रै नभई यस सडक खण्डमा रहेका मोटर पुलहरूको निर्माण कार्य समयमा सम्पन्न नभएका कारणले पनि कष्टकर यात्रा गर्न बाध्य रहेका छन् । मध्यपहाडी लोकमार्गको सडक खण्डमा सोखु खोला पुल, बादुरा खोला पुल र खाङसाङबेंसीमा रहेको पुलको निर्माण कार्य समयमा सम्पन्न हुन नसकेकाले यात्रा थप कष्टकर हुने गरेको छ ।

मध्यपहाडी लोकर्माग सडक खण्ड प्रयोग गरेर यात्रा गर्ने यात्रुहरू बिगतका वर्षदेखि खेपी रहेका कष्टकर यात्राबाट यो वर्ष पनि छुटकारा पाएनन् । हाल सालै निरन्तर भइरहेको निरन्तर वर्षाका कारण विभिन्न ठाउँमा गएको पहिरोले बाटो थुनिएर मध्यपहाडी लोकमार्ग सडक खण्डमा यात्रा गर्ने यात्रुहरू अलपत्र अवस्थामा रहेका छन् ।

मध्य पहाडी लोकमार्गको सिन्धुलीको गोलन्जोर गाँउपालिकाअन्तर्गत हैबार, कालीआँप, खुकुरेटार, कुँडुले र सुम्नामबेंसीमा माथिबाट पहिरो आई सडकमा थुप्रिएर सवारी साधान आवागमन रोकिएको छ । मध्यपहाडी लोकमार्गमा खसेको पहिरो वर्षा भइरहेका कारण पन्छाउन नसकिएको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक बुद्धिमणि नेपालले जानकारी दिनुभयो । मध्यपहाडी राजमार्गमा पाँच ठाँउभन्दा बढी पहिरो गएको र वर्षा नरोकिई स्काभेटरले काम गर्ने अवस्था पनि नरहेको नेपालको भनाइ छ । हालसम्म सोलुखुम्बु, ओखलढुंगा, र खोटाङबाट छुटेका सवारी साधनमात्र ओखलढुंगाबाट बाहिरिएका र जिल्लाभित्र एउटा पनि सवारी साधन नभित्रिएको अस्थायी ट्रफिक प्रहरी पोस्ट हर्कपुर ओखलढुंगाका ट्राफिक प्रहरी साजन कार्कीले बताउनुभयो ।

मध्य पहाडी लोकमार्गको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्ड र वीपी राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङ, ओखलढुंगा, सोलुखुम्बु तथा उदयपुर र तराईका जिल्लाबाट राजधानी काठमाडौं हिडेका सवारी साधन र राजधानीबाट ती जिल्लाका लागि छुटेका सवारी साधनबीच बाटोमा नै रोकिएर सवारी साधन र यात्रु अलपत्र परेका ओखलढुंगाबाट काठमाडौं हिँडेका यात्रुहरूले बताए ।