फुट्नु र चोइटिनु फरक कुरा : ओली


काठमाडौं, (नेस) ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक दुई पात पहेंलिएर खस्दैमा रुखलाई केही फरक नपर्ने बताउनुभएको छ । उहाँले एमाले रुख भएकाले नयाँ–नयाँ पालुवा पलाउने बताउनुभएको छ ।

उहाँले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमालेलाई केही केही फरक नपर्ने बताउनुभयो ।

युथ फोर्सले ललितपुरको लुभुमा आयोजना गरेको जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउँदो चुनावमा सबै दल मिलेर उठे पनि एमाले एक्लै उठेर बहुमत ल्याउने दाबी गर्नुभयो । एमालेसँग एक्लै लड्न नसकिने भन्दै केही मानिसहरु छटपटिएका छन् तर सबै पार्टी मिले पनि एमालेको कम्मर–कम्मरसम्म पनि आउन नसक्ने दाबी गर्नुभएको छ ।

अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरू पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिनँ भन्ने निष्कर्षमा पुगेको दाबी गर्नुभयो । उहाँले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाबकिताब हुने बताउनुभएको छ ।

उहाँले अब कुनै पनि निर्वाचन क्षेत्रमा अरूलाई जित्न नदिने बताउँदै पार्टी फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको बताउनुभयो । ‘बिग्रिएका मान्छेले पार्टी छोडेका हुन सज्जन सबै एमालेमा नै छन्’, उहाँले भन्नुभयो– ‘एमाले फुटेको नभई अलिकति चोइटिएको हो ।’ उहाँले फुट्नु र चोइटिनु फरक कुरा भएको बताउनुभयो ।

अध्यक्ष ओलीले माधव नेपालको पार्टीसँग केन्द्रीय समितिका ५५ र संसदीय दलका २९ बाहेक अरू मान्छे नभएको बताउँदै पार्टी फुटाउनेहरुलाई कुलंगारको संज्ञा दिनुभयो ।