दामन भ्युटावर पुनर्संञ्चालनको तयारी



नेपाल समाचारपत्र, हेटौंडा ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित भ्युटावर र रिसोर्ट पुनर्संञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान गरेको छ । थाहा नगरपालिका राजस्व परामर्श समितिले भ्युटावर पुनर्संञ्चालनमा ल्याउन सुझावसहित निर्णय गरेको हो ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि नगरपालिकाले पहिलो वर्ष हेटौंडा–१० को प्रकाश होटललाई पाँच वर्षका लागि ठेक्का दिएको थियो । सम्झौता अवधि पूरा नहुँदै नगरपालिका र प्रकाशबीच ठेक्का सम्झौता भंग भएपछि एक वर्षका लागि नगरपालिकाले ठेक्का आह्वान गरेको हो । प्रकाश होटलसँग पाँच वर्षका लागि ठेक्का सम्झौता भए पनि रिसोर्ट र भ्युटावर दुई वर्षदेखि बन्द छ ।

राजस्व परामर्श समितिका सदस्य एवम् थाहा नगर उद्योग वाणिज्य संघ महासचिव सुरेन्द्रमान प्रधानले समितिले भ्युटावर भाडामा दिएर पुनर्संञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी दिँदै हाललाई भ्युटावरमात्र सञ्चालन गर्न दिने गरी सुझाइएको बताउनुभयो ।

भ्युटावरमा दूरबिन राखिदिन नगरपालिकालाई पटक–पटक आग्रह गरे पनि सोको बेवास्ता गर्दा दामन रिसोर्ट सञ्चालन गर्न समस्या भएको प्रकाश होटलले जिकिर गर्दै आएको थियो । पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण लकडाउन हुँदा व्यवसाय चौपट भएपछि अन्ततः बक्यौता भाडा बुझाएर होटलले भ्युटावरबाट हात झिक्यो ।भ्युटावरमा रहेको दुई वटा दूरबिनमध्ये एउटा द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले लगेपछि हाल एउटामात्र रहेको र पुरानो भएकाले धमिलो देखिने गरेको छ । हाल नगरपालिकाले यथावस्थामा रिसोर्ट तथा भ्युटावर सञ्चालन गर्ने गरी ठेक्का आह्वान गरेको छ । न्यूनतम् ३ लाख २० हजार मूल्य कायम गरी एक वर्षका लागि रिसोर्ट तथा भ्युटावर भाडामा दिन ठेक्का आह्वान गरिएको नगर उपप्रमुख खड्ग गोपालीले जानकारी दिनुभयो ।

दामन भ्युटावर लामो समय केन्द्रीय सरकार मातहत रहेकोमा पछिल्लो समय तत्कालीन जिल्ला विकास समिति हुँदै नगरपालिकामातहत आएको हो । भूकम्पपश्चात् भ्युटावर र रिसोर्ट पूर्णरुपमा बन्द थियो । भ्युटावर सञ्चालनमा नआएकाले दामन पुग्ने आन्तरिक एवम् बाह्य पर्यटकमा पनि कमी आएको थियो ।२०१० सालताका निर्माण सम्पन्न भएको भ्युटावर भूकम्पले क्षतिग्रस्त बनाउँदा मकवानपुरको उत्तरी क्षेत्रकै पर्यटन व्यवसायमा प्रतिकूल असर परिरहेको छ । दामनको पर्यटकीय गन्तव्यका रुपमा रहेको भ्युटावर चढ्न र त्यहाँ रहेको रेष्टुराँमा खानपिन गर्न निकै जोखिमपूर्ण देखिएपछि ताला लगाएर राखिएको थियो । करिब ४० फिट अग्लो भ्युटावर जगदेखि नै चर्किएर कोल्टे परेका कारण त्यहाँ चढ्न र बस्न जोखिम थियो । समुद्री सतहबाट करिब २ हजार ३ सय २२ मिटरको चीसो क्षेत्रमा स्थापित भ्युटावर चढेर त्यहाँको दुरबिनबाट नेपालका अग्ला १५ वटा हिमश्रृंखला हेर्न दिनहुँ कम्तिमा एक सय ५० जना पुग्ने गर्दथे । शुक्रबार र शनिबार पर्यटकको संख्या बढेर कम्तिमा ७ सय पुग्ने गरेको नगर प्रमुख लवशेर बिष्टले बताउनुभयो ।

उक्त भ्युटावरलाई उक्त क्षेत्रको गहना मानिन्छ । भ्युटावरबाट पालुङ उपत्यका र वरपरका प्राकृतिक दृश्यसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, गणेश, मकालुलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । राजधानीलाई तराई जोड्ने सेतुका रुपमा रहेको त्रिभुवन राजपथको सर्वाधिक उचाईंमा रहेको सीमभञ्ज्याङमा अवस्थित दामन भ्युटावरले नेपालकै पहिलो दृश्यावलोकन टावरको कीर्तिमान कायम गरेको छ । भ्युटावरमा रिसोर्ट पनि सञ्चालनमा छ । टावरबाट पालुङ, दामन, बज्रबाराही र चित्लाङका फाँटमा फलेको ताजा तरकारीको हरियो फाँट, पूर्वमा सर्वोच्च शिखर सगरमाथा, पश्चिममा अन्नपूर्ण तथा धौलागिरिलगायत नेपालका उच्च हिमशृंखलाको सहज दृष्यावलोकन गर्न सकिन्छ । अत्यधिक गर्मी, तनावको बेला, बिदा मनाउन चिसो शान्त वातावरणको आनन्द लिन मानिसहरु यहाँ आउने गर्दछन् । भ्युटावरमा प्रवेश गरेबापत् नेपालीलाई ३० र विदेशी नागरिकलाई ५० रुपियाँ शुल्क लिइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्