घटेन २० वर्ष नपुगी गर्भवती हुनेको संख्या



मिला दरै, तनहुँ ।

‘बिहाबारी २० वर्ष पारि’ भन्ने अभियान चलिरहे तापनि यसले सार्थकता पाउन सकेको छैन । शिक्षित र शहरी क्षेत्रमा समेत २० वर्ष नपुग्दै बिहाबारी र बच्चा जन्माउने भइरहेको पाइन्छ भने ग्रामीण क्षेत्रका किशोरीहरूमा यो अभियान लागु हुने अवस्था नभएको तथ्याङ्कले देखाएको छ ।

सदरमुकामस्थित दमौली अस्पतालको तथ्याङ्कअनुसार हाल पनि किशोरी अवस्थामा नै गर्भवती हुने र बच्चा जन्माउने गरेको पाइएको छ । गत आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्कअनुसार वर्षमुनिका १३२ किशोरीले बच्चा जन्माएका छन् । विगतका वर्षहरूमा भन्दा गत आर्थिक वर्षमा कम भए पनि लक्ष्य अनुरूपको न्यूनीकरण नभएको बताउनुहुन्छ दमौली अस्पतालका नर्सिङ इञ्चार्ज दीपा पाण्डे ।

‘विगतमा २० वर्ष नुग्दै अस्पतालमा डेलिभरीका लागि आउनेको संख्या उच्च थियो, तर, अहिले ग्रामीण क्षेत्र तथा विद्यालयस्तरमा पनि जानकारी गराउनेजस्ता सचेतना मूलक कार्यक्रम भइरहने हुँदा न्यूनीकरण भएको छ, एकैचोटी न्यूनीकरण र अन्त्य नै हुने पनि होइन, किशोरीदेखि सबै आमनागरिक शिक्षित हुँदै गएपछि अन्त्य नै हुने अपेक्षा गर्न सकिन्छ’ –पाण्डेले भन्नुभयो ।

जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७६/७७ मा ६८२ महिलाले शिशु जन्माएका छन् भने आर्थिक वर्ष २०७७/७८ मा ६२८ महिलाले शिशु जन्माएको नर्सिङ इञ्चार्ज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड १९ को संक्रमणका कारण गर्भवती हुने संख्यामा पनि कमी आएको छ ।

उहाँले भन्नुभयो–‘नेपाली युवाहरू धेरैजसो वैदेशिक रोजगारीमा निर्भर रहेका छन्, कोरोना संक्रमणले वैदेशिक रोजगारीमा गएका युवाहरू स्वदेश फर्किने अवस्था छैन, त्यसले गर्दा गर्भवती कम भएको देखिएको छ, एक त गर्भवतीलाई कोरोना संक्रमण हुने हुँदा पनि कमी भएको डब्ल्युएचओले जनाएको छ, बुझ्ने व्यक्तिले त्यसतर्फ सचेत भएको पाइन्छ ।’

अस्पतालको अनुसार आर्थिक वर्षको पहिलो चौमासिकमा बढी बच्चा जन्मिने गरेको छ । वैदेशिक रोजगारी तथा रोजगारीको सिलसिलामा श्रीमान्श्रीमती एकै स्थानमा नहुने हुँदा पनि पहिलो चौमासिकमा बढी बच्चा जन्मिएको अनुमान लगाइएको उहाँ बताउनुहुन्छ । पहिलो चौमासिक शुरू हुनासाथ हिन्दु धर्मालम्बीहरूको चाडपर्व आउने र मनाउनका लागि घर आउने प्रक्रियाले गर्दा यस्तो भएको अस्पतालको अनुमान छ ।

सरकारले नियमित चेकजाँच र अस्पतालमा डेलिभरी गरेवापत दिने सेवा सुविधाले प्रोत्साहनले सेवा लिने बढेको उहाँ बताउनुहुन्छ । अस्पतालमा डेलिभरी गरिएमा न्यानो झोला कार्यक्रमअन्तर्गत नवजात शिशुलाई टोपी २ थान, भोटो २ थान, सुत्केरीलाई एक थान गाउन र दुई हजार रुपियाँ यातायात खर्चवापत रकम दिने व्यवस्था गरेको छ । ६ महिना, ८ महिना र ९ महिनामा नियमित परीक्षण गर्ने महिलालाई यातायात खर्चमा आठ सय रुपियाँ थप दिने गरिएको छ ।

गर्भपतन गराउनेको संख्या घट्दो

विगतका वर्षमा भन्दा गर्भपतन गराउनेको संख्या भने घटेको छ । दमौली अस्पतालको तथ्याङ्कअनुसार कम भएको देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा १४३ जनाले गर्भपतन गराएका छन् भने आर्थिक वर्ष २०७६/७७ मा २१८ जनाले गर्भपतन गराएको अस्पतालले जनाएको छ ।

कोभिड १९ को संक्रमणका कारण मेरी स्टोप्स्ले घर घरमा पुुगेर गर्भपतन सेवा दिएकाले अस्पतालमा आएर सेवा लिनेको संख्या घटेको अस्पतालका नर्सिङ इञ्चार्ज दीपा पाण्डेले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा मात्रै १८ जनाले गर्भपतन गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्