मुख्यमन्त्री केसीलाई विश्वासको मत


यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सभामा ८० जना सांसद रहेकोमा सभामुखबाहेक ४३ जनाको सोमबार प्रदेशसभाको बैठकमा उपस्थिति रहेको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीको पक्षमा ४२ मत र १ जना सांसद तटस्थ रहेका सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री केसीले आफूलाई मुख्यमन्त्रीमा विश्वासको मत पुष्टि गर्न ४१ जना सांसद आवश्यक रहेको थियो । उपसभामुख कृष्णी थारू भने तटस्थ रहनुभएको छ । गत साउन २७ गते गठबन्धको नेतृत्वमा मुख्यमन्त्री चयन हुनुभएका केसीले १२ दिनमै विश्वासको मत लिनुभएको छ । विश्वासको मत लिने प्रदेशसभाको बैठकमा उपसभामुखसहित ३७ सांसद रहेको प्रमुख प्रतिपक्षी दल एमालेले भने बैठक बहिष्कार गरेको थियो ।

यसअघि सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । आफू मुख्यमन्त्री बनेपछि एमालेले शुभकामना पनि नदिएको केसीले गुनासो गर्नुभयो । संविधानले निर्दिष्ट गरेअनुसार विपक्षी दलसँग पनि संवाद, सहमति र सहकार्य गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री केसीले बताउनुभयो ।

लोकतन्त्र र संविधानको रक्षा तथा संघीयता कार्यान्वयन सरकारको प्राथमिकता हुने उहाँले बताउनुभयो । कोभिड–१९ लाई नियन्त्रण र रोकथाम नवगठित सरकारको पहिलो प्राथमिकता हुने केसीको कथन छ । उहाँले मन्त्रिपरिषद्ले पूर्णता पाउनासाथ राजधानी व्यवस्थापन, रोजगारी बढाउने काम अगाडि बढाउने बताउनुभयो ।

अर्को दलले कारबाही गर्न मिल्छ कि मिल्दैन ?

लुम्बिनी प्रदेशसभामा बैठक अवरोध गर्दै एमालेका सांसदले नारा लगाइरहेका बेला माओवादी केन्द्रले एउटा दलको सांसदलाई अर्को दलले कारबाही गर्न मिल्छ भन्दै प्रश्न गरेको छ । आफ्नो पार्टीले २ सांसदलाई कारबाही गरेको सूचना प्रदेशसभामा दिनुपर्ने माग गर्दै विपक्षी एमालेले प्रदेशसभा बैठक अवरोध गरिरहेको छ ।

विपक्षीले नाराबाजी गरिरहेका बेला माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले विमलाकुमारी खत्री आफ्नो दलको सदस्य भएकाले अर्को पार्टीले कारबाही गर्न नसक्ने बताउनुभयो । ‘हाम्रो पार्टीको सदस्य विमला खत्रीका बारेमा जुन कुरा उठाउनुभएको छ, एउटा दलको सदस्यलाई अर्को दलले कारबाही गर्न मिल्छ कि मिल्दैन ?’ –उहाँको प्रश्न छ । यदि मिल्ने नै हो भने हामीले पनि उहाँहरुको दलका सदस्यलाई कारबाही गर्छौं, चिठ्ठी दिने र त्यो टाँस्नुभएन भने सदन अवरुद्ध गर्ने उहाँको चेतावनी थियो ।