८ महिने शिशुसहित दम्पतीद्वारा आत्महत्या


भद्रपुर, (नेस) ।

८ महिने शिशुसहित झापामा एक दम्पतीले झुन्डिएर आत्महत्या गरेका छन् ।

कनकाई नगरपालिका–१ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुन्डिएको अवस्थामा सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पहिला शिशुलाई झुन्ड्याएर पछि दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको झापाका डीएसपी राकेश थापाले जानकारी दिनुभयो । नानीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको उहाँको भनाइ छ ।

उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौंसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् । आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको उहाँले जानकारी दिनुभयो ।