बेपत्ता रामसिंह अझै भेट्टिएनन्


बैतडी ।

सुर्नया नदीमा बगेर शुक्रबार बेपत्ता भएका बैतडीका एक व्यक्ति अझै भेटिएका छैनन् । जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयतेखोला नजिकबाट साउद बेपत्ता भएका थिए ।

बेपत्ता रहेका रामसिंहको अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।
बेपत्ता साउदको प्रहरी र स्थानीयवासीले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । केही दिनदेखिको लगातारको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।