निर्वतमानमन्त्री आलेद्वारा उपचारका लागि आर्थिक सहयोग


विमल विष्ट, डोटी ।

निर्वतमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बिभिन्न बिरामीले काठमाडौँका अस्पतालमा भर्ना भइ उपचार गराइ रहनु भएका सुदूरपश्चिमका तीन जना बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको छ । कृर्तीपुर अस्पताल काठमाडौँमा उपचार गराइ रहनु भएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका महेश्वरप्रसाद जोशीलाई उपचारका लागि रु २० हजार, यसैगरी सोही नगरपालिका–३ अतुराली बस्ने करेन्ट लागेर गम्भीर घाइते भइ धुलिखेल अस्पताल काभ्रेमा उपचार गराइ रहनु भएका १० वर्षीय राजेन्द्रबहादुर बोगटीलाई रु २५ हजार, कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने आगोले जलेर घाइते भएकी मनिषा भण्डारीलाई रु दश हजार उपचार सहयोग गर्नु भएको छ ।

अस्पतालमा उपचार गराइ रहेका पीडितहरुको आर्थिक अभावमा उपचारमा समस्या भएको जानकारी पाएपछि निर्वतमानमन्त्री आले आफै अस्पतालमा पुग्नु भइ आर्थिक सहयोग गर्नु भएको उहाँका स्वकीय सचिब हेम्त रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिभिन्न समस्याले अस्पतालमा उपचार गराउन आएका सुदूरपश्चिमका नागरिकहरु आर्थिक अभावले समस्यामा परेको खबर माननीय ज्यूले पाउनु भयो, अनि अस्पतालमै गएर उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।” आर्थिक समस्यामा परेका पीडितहरुले राहत स्वरुप आर्थिक सहयोग पाएपछि उपचारमा निकै सहयोग पुगेको बिरामी राजेन्द्रका बुवा चन्द्रबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “करेन्ट लागेर छोरा अस्पतालमा भर्ना गरेको थिए, आर्थिक अभाव छ, पूर्वमन्त्री ज्यूले उपचार सहयोग गर्नु भएपछि केही सहज भएको छ, निकै खुशी छौँ ।”