विद्यालय संरक्षणमा स्थानीय


मिला दरै, तनहुँ ।

भुजेल जातिका बालबालिकाको अध्ययनका लागि स्थापित विद्यालय गाभिने अवस्थामा पुगेपछि स्थानीयले संरक्षण गरेका छन् । व्यास नगरपालिका–१२ स्थित छाब्दी बाराही प्राथमिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि बन्द हुन लागेकाले संरक्षणमा स्थानीय सक्रिय भएका हुन् ।

गत शैक्षिक सत्रमा विद्यालयमा कुल २४ विद्यार्थी थिए । विद्यार्थी न्यून भएकाले नियमतः विद्यालय गाभिने प्रावधान छ । तर, नगरपालिका र स्थानीयको समन्वयमा विद्यालयको संरक्षणमा स्थानीय जुटेको छाब्दी बाराही मन्दिर विकास कोषका अध्यक्ष थानबहादुर थापा (प्रेम) ले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयले ५ हजार रुपियाँका दरले रकम उठाएर विद्यालयको संरक्षणमा सहयोग गर्ने कार्य जारी रहेको छ । विद्यालयको संरक्षणका लागि अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

‘यस शैक्षिक सत्रमा विद्यालय मर्ज हुने पक्का भयो, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघसँग छलफल गर्‍यौँ, यहाँका बालबालिकाका लागि भए पनि जोगाउनुपर्छ भनेर स्थानीय एकजुट भएपछि संरक्षण हुने भएको छ ।’ –प्रधानाध्यापक गणेश सुनारले भन्नुभयो । विद्यालयको संरक्षण र बालबालिकाको सहजताका लागि विद्यालयलाई परिस्कृत गर्दै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाको सहयोगमा कुर्सी, टेबल लगायतका सामग्री ल्याएर व्यवस्थापन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रप्रसाद कँडेल बताउनुहुन्छ । विद्यालयको भौतिक व्यवस्थापनका लागि नगरपालिकाले ६ लाख ५० रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार काम अगाडि बढाएको उहाँले बताउनुभयो । ‘विद्यालय टाढा हुँदा भुजेल बालबालिकालाई समस्या हुन्छ, बन्द हुन दिनु हुँदैन भनेर छलफलबाट जोगाउन सफल भएका छौं, यसले बालबालिकालाई पढ्नुपर्छ भन्ने भावनाको समेत विकास गराउनेछ ।’ –कँडेलको कथन छ ।

विद्यालयमा भुजेल जातिका बालबालिका बढी रहेको र उनीहरुको सहजताका लागि विद्यालय गाभिनुबाट जोगाउन आवश्यक रहेको भन्दै छाब्दी बाराही मन्दिरका पुजारीकी छोरी बिना थापाले १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गर्नुभएको शिक्षक अभिावक संघका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बिनाले गर्नुभएको सहयोगसहित गरी अन्य स्थानीयबाट संकलित १ लाख ९३ हजार २ सय २७ रुपियाँ विद्यालयलाई हस्तान्तरणसमेत गरिएको छ ।

छाब्दी क्षेत्रका बालबालिका पढ्ने पायकको विद्यालय भएकाले स्थानीय संरक्षणमा जुटेका हुन् । यस शैक्षिक सत्रमा १ सय ३ नयाँ विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ । थपिएका सहित विद्यालयमा अध्ययनरत बालिबालिका १ सय २७ पुगेका छन् ।