६ महिनामै भत्कियो सडक, अख्तियारद्वारा गुणस्तर छानबिन शुरू

1.6k
Shares

यमलाल भुसाल, बुटवल ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले भैरहवा–लुम्बिनी–तौलिहवा सडकको गुणस्तर (प्राविधिक परीक्षण अध्ययन) छानबिन शुरु गरेको छ । अख्तियारका इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा चार सदस्यीय टोली सडकमा खटाएर सोमबारबाट छानबिन थालेको हो ।

विश्व पर्यटन केन्द्र लुम्बिनीलाई सहज सडकमार्गले जोड्ने लक्ष्यसहित बनाइएको यो सडक ६ महिनामै ठाउँ–ठाउँमा भत्किएको छ, खाल्डैखाल्डा बनेको छ भने कतै दबेको छ । अख्तियार टोलीले गुणस्तर जाँचका लागि सडकमा प्रयोग गरिएको सामग्रीको नमुना संकलन थालेको छ । नमुना संकलनमा खटिएका इन्जिनियर आचार्यले ४१ किलोमिटर सडक क्षेत्रको ठाउँ–ठाउँबाट नमुना लिएर काठमाडौंमा गुणस्तर जाँच गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कम्तीमा ३०–४० ठाउँबाट नमुना लिन्छौं ।’

अख्तियारले ठेकेदार, परामर्शदाता, आयोजना कार्यालयलाई समेत स्थलगतरूपमै सँगै लिएर नमुना लिइरहेको हो । कम्तीमा पाँच वर्ष टिकाउ हुने भनिएको यो सडकखण्ड भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्मको ३.८ किमि ६ लेन, विमानस्थलदेखि लुम्बिनीको पर्सा चोकसम्मको १४.५ किमि चार लेन र पर्साचोकदेखि तौलिहवासम्मको करिब २३ किमि दुई लेनको छ । सडक निर्माण भारतको ठेकेदार कम्पनी गावर कन्स्ट्रक्सन गुडगाव, हरियाणासँग २०७४ असार ८ मा ठेक्का सम्झौता भएको थियो ।

२०७६ पुस मसान्तसम्ममा सम्पन्न गर्ने गरी एसियाली विकास बैंकको ऋण सहयोगमा थालिएको यस आयोजनाको शुरूको ठेक्का रकम १ अर्ब ९३ करोड रुपियाँ हो । पछि थप गरेर लागत २ अर्ब ८ करोडभन्दा बढी पु¥याइएको थियो । कुल लगानीमध्ये एसियाली विकास बैंकको ८४.५ प्रतिशत र बाँकी नेपाल सरकारको हो । निकै ढिला गरी सन् २०२० को डिसेम्बरमा निर्माण सकिएको सडक अहिले जताततै भत्किएको छ । छोटो समयमै सडक भत्किएपछि चौतर्फी आलोचना शुरु भएको छ ।

निर्माणाधीन अवस्थामा आयोजना र परामर्शदाताले निरीक्षण तथा अनुगमन नगर्दा ठेकेदारले लापरबाही गरेको हो । जसले गर्दा सडक धुजा–धुजा बनेको छ । ‘सडक निर्माणका क्रममा आयोजना र सरकारी पक्षबाट अनुगमन नै भएन । यसैको परिणाम सडकको अवस्था यस्तो भएको हो’, सिद्धार्थनगर–४ का स्थानीय डिलबहादुर क्षत्रीले भन्नुभयो– ‘मिलेमतोमा सडक कमसल सामग्री प्रयोग गरी बनाइएकाले कारबाहीको दायरामा ल्याउनुपर्छ ।’