पाल्पामा अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, पाल्पा ।

निषेधाज्ञा जारी भए पनि लार्पवाही स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालना नगर्दा पाल्पामा एकैदिन दुई सय जनामा कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आइतबार मात्र महामारीको दोस्रो चरण यता अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा दुई सय जना नयाँ संक्रमित थपिएको जनाएको छ ।

कार्यालयका अनुसार पीसीआर परीक्षणमा १० जना र एन्टिजेन परीक्षणमा १ सय ९० जना संक्रमित थपिएको हो । पीसीआर परीक्षणमा १९ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिकाका-२, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिकाका १÷१, रम्भा गाउँपालिकाका ३ र तानसेन नगरपालिकाका ३ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १ सय ९० जनामा संक्रमण पुष्टि भएको छ । ७ सय ४६ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका ४, पूर्वखोला गाउँपालिकाका १ र तानसेन नगरपालिकाका १ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला सदरमुकाम तानसेनमा मानिसहरुको चहलपहल वढेको र भीडभाड तथा स्वास्थ्य मापदण्डको वेवास्ताका कारण संक्रमण निकै उच्च देखिएको सरोकारवाला वताउछन । यो संगै जिल्लामा सक्रिय संक्रमित ५ सय नाघेका छन् ।

अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय ८ पुगेको छ । संक्रमित मध्ये ४ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने ६४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
पछिल्लो समय पाल्पामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ ।

समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा संक्रमणको ग्राफ दिनहुँ उकालो लाग्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारी कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय नै वन्द गर्नु परेको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा दैनिक ५० देखि दुई सय जनाको हराहारीमा संक्रमित थपिन थालेको स्वास्थ्य कर्मीको भनाइ छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ सय ७४ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९४ जना महिला र ८० जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका १ सय ५२, रामपुरका १४, रैनादेवी छहराका ३, बगनासकालीकाका ३ र रिब्दीकोट, तिनाउका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार ६ सय ५० पुगेको छ । यहाँ अहिलेसम्म १ सय ३२ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।