समन्वयात्मकरूपमा काम गर्न प्रहरी महानिरीक्षक थापाको निर्देशन

280
Shares

काठमाडौँ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रदेश प्रहरी प्रमुखलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले सबै प्रदेश प्रहरी कार्यालयलाई एक आपसमा समन्वय गर्दै आवश्यक योजना बनाई कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ ।

सङ्गठनको विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना–२०७७ अन्तर्गत गरिएको कार्यसम्पादन सम्झौता अनुरूप प्रहरी कार्यालयका प्रमुखहरूले पूर्ण व्यावसायिकताका साथ आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा उहाँको जोड थियो ।

प्रहरी प्रधान कार्यालयमार्फत भर्चुलरूपमा आज आयोजित समारोहमा प्रहरी महानिरीक्षक थापाले आर्थिक वर्ष २०७८र०७९ को लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा भिडियो कन्फ्रेन्समार्फत् सातै प्रदेशका प्रहरी प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो निर्देशन दिनुभएको हो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीले पेशागत, व्यावसायिक, नैतिक आचरण र व्यवहारलाई आधार मानेर कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो । वार्षिक कार्यसम्पादन सम्झौता अनुरूप गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष अपराध रोकथाममा उल्लेखनीय प्रगति हासिल भएको चर्चा गर्नुभयो ।

गत आर्थिक वर्षको अपराध तथ्याङ्क विश्लेषण गरी सोही अनुरूप आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जघन्य अपराधप्रति संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।