मालघाट तुइन प्रकरण : पीडितको घर पुगेर फर्कियो छानबिन टोली

4.9k
Shares

न्युज अफ नेपाल,  दार्चुला ।

मालघाट घटनामा महाकाली नदिमा खसेर बेपत्ता भएका ब्याँस गाउँपालिका–२ जय सिंह धामीको घरमा गृह मन्त्रालयको छानबिन टोली पुगेर फर्किएको छ ।

जय सिंह धामी खसेको घटनास्थल मलघट्टे अनुगमनमा गएको टोलीले पिडित परिवारलाई भेटेर घटनाबारे छलफल गरेको गृह मन्त्रालयका सह सचिव एवं समितिका संयोजक जर्नादन गौतमले जानकारी दिनुभयो । आज विहान नेपाली सेनाको हेलिकप्टर मार्फत त्याहा गएको टोलीले घटनास्थल अनुगमन गर्नुका साथै जय सिंह धामीको परिवार र छिमेकीलाई घटनाका बारेमा सोधपुछ गरेको उहाले बताउनुभयो ।

घटना हुने वित्तिकै घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा स्थानियलाई समेत घटनाको बारेमा सोधपुछ गरी सुचना संकलन गरेको उहाको भनाई छ । पिडित परिवार संगको भेटमा घट्नाको पारदर्शी किसिमले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने टोलीले प्रतिबद्धता व्यक्त गरेको संयोजक गौतमले बताउनुभयो । पिडित परिवारले टोली संग न्यायको माग गर्नुका साथै राहतको समेत माग राखेको उहाले जानकारी दिनुभयो । साथै स्थानियले नेपालबाट बाटो नभएका कारण उक्त घटना भएको भन्दै बाटो–घाटोको माग राखेका छन् ।

घटनासंग सम्बन्धित सुचनाहरु अझै संकलन गर्ने क्रम जारी रहेको भन्दै उहाले सबै सुचना संकलन गरी सकेपछि मात्रै काठमाण्डौ फर्किने बताउनुभयो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन टोलीमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।

साउन १५ गते ब्याँस गाउँपालिका–२ मालघाटमा तुईन तर्ने क्रममा भारतीय एसएसबीले तुईन काटीदिदा स्थानिय जय सिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । जय सिंह धामी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी छ ।