मेस्सीले छाडे बार्सिलोना, अब कता ?

924
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

लियोनल मेस्सीले स्पेनिस क्बल बार्सिलोना छाड्ने पक्का भएको छ ।

बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै मेस्सी क्लबबाट बाहिरिने जानकारी दिएको हो । मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्ने भनिए पनि आर्थिक समस्याका कारण सम्झौता हुन नसकेको क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘मेस्सी अब फुटबल क्लब बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लब दुवैको सम्झौता गर्न मनसाय रहे पनि पूरा हुन सकेन।’

सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीमा आबद्ध कीर्तिमानी खेलाडी मेस्सीले क्लबका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । उनले क्लबलाई १० ला-लिगा, ७ कोपा डेल रे, ४ च्याम्पियन्स लिग लगायतका थुप्रै उपाधि दिलाएका छन् ।

मेस्सी अब कता ?

मेस्सीले बार्सिलोना छाड्ने भएसँगै उनी अब कुन क्लबमा आबद्ध हुन्छन् भन्ने कुराले चर्चा पाएको छ । यसअघि नै आएका केही समाचारका अनुसार उनी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पीएसजीमा आबद्ध हुन सक्ने चर्चा चलिरहेको छ ।

त्यस्तै, स्काइ स्पोर्ट इटालिया र आरएमसी स्पोर्टकाका अनुसार मेस्सी र पेरिस सेन्ट जर्मेनबीच अनुबन्धका लागि छलफल सुरु भइसकेको जनाइएको छ । तर, मेस्सीको अबको फुटबल यात्राबारे हालसम्म आधिकारीक जानकारी भने केही आएको छैन ।