एमाले अधिवेशन र सदस्यता वितरण रोक्न माग

266
Shares

काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय बैठकले पार्टीको अधिवेशन र सदस्यता वितरणको काम तत्काल स्थगित गर्नुपर्ने माग गरेको छ ।

बिहीबार आफू निकट केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशन र निर्वाचनको हिसाबकिताब मिल्ने गरी मात्रै एकता हुने बताउँदै पार्टी एकताको विषयमा गृहकार्य भइरहेको बेलामा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले जिल्ला अधिवशेन र सदस्यता वितरणको काम अगाडि बढाउनु गलत भएको बताउनुभयो । उहाँले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म ओलीसँग मिसिनु राजनीतिकरूपमा आत्महत्या गरे सरह हुने बताउनुभएको छ । बैठकमा नेता नेपालले आफू एकताकै पक्षमा रहेको स्पष्ट पार्दै ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्नेभन्दा पनि आफूहरूलाई एकताको विरोधी देखाउने खालको रहेको आरोप लगाउनुभयो ।

एमाले विवाद समाधानका लागि बनेको विघटित कार्यदलका सदस्य भीम रावलले पार्टी एकताको वातावरण निर्माण हुँदै गएको जिकिर गर्दै अहिले सरकारमा सहभागी हुनु गलत हुने धारणा राख्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका पार्टीका २२ जना सांसदले सरकारमा सहभागी हुनुपर्ने दबाब दिइरहेकै बेलामा बैठकमा अधिकांश केन्द्रीय सदस्यले भने पार्टी एकताका लागि १० बुँदे समझदारीको आधारमा एकतालाई अगाडि बढाउनुपर्ने र तत्कालका लागि सरकारमा जान नहुने धारणा रखेका थिए ।

बैठकमा डा. विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सवित भुसाल, शेरबहादुर केसी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतका केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको नेता रघुजी पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय सदस्यहरूले विचार राख्ने क्रम शुक्रबार पनि जारी रहनेछ ।