कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा, देउवालाई महाधिवेशनको सुनिश्चितता गर्न दबाब

182
Shares

रामकृष्ण चापागाईं, काठमाडौं ।

पटकपटक कार्यतालिका सार्वजनिक गरे पनि महाधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई महाधिवेशनको सुनिश्चितता गर्न चौतर्फी दबाब बढिरहेको छ ।

पछिल्लोपटकको कार्यतालिकाअनुसार साउन १२ बाट वडा अधिवेशन शुरू भई भदौ १६–१९ गतेसम्पन्न हुने भनिएको १४औं महधिवेशन पनि अनिश्चित बनेपछि पार्टीभित्र सभापति देउवाको चौतर्फी आलोचना भइरहेको छ । फेरि पनि सभापति बन्ने रणनीतिमा लागेका देउवालाई महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिन भन्दै ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ समेत शुरू भएको छ ।

खास गरी संस्थापन इतर पक्षका केन्द्रदेखि जिल्लासम्मका नेताहरूले अहिले सभापति देउवासमक्ष समयसीमाभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने एउटै माग राखिरहेका छन् । महाधिवेशनको सुनिश्चितता गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताको दैनिक छलफल र बैठक चलिरहेका बेला ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ भन्दै विभिन्न जिल्ला र क्षेत्रको प्रतिनिधित्व गर्ने युवा नेताहरूले पनि दबाब सिर्जना गर्न थालेका हुन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति देउवालाई ज्ञापनपत्र बुझाउँदै अभियानकी नेतृ प्रतिमा गौतमले भन्नुभयो– ‘पार्टी र लोकतन्त्रलाई जीवन्तता दिने र वैधता कायम राख्ने हाम्रा मागहरू पूरा नभए ७७ जिल्लाबाटै पार्टी नेतृत्वविरुद्ध आन्दोलन हुन्छ ।’

सो अभियानमा मनोजमणि आचार्य, रञ्जित कर्ण, प्रतिमा गौतम, सुवास पोखरेल, प्रमोदहरि गुरागाईं, कमलबहादुर शाह, विनोद कायस्थ, रीता खनाललगायत सहभागी छन् ।

सभापति देउवालाई बुझाएको ज्ञापनपत्रमा महाधिवेशनको समयसीमाको अन्तिम क्षण पुगिसक्दा पनि क्रियाशील सदस्यताको छानबिन गरी अन्तिम रूप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिबद्धता र नियतमाथि प्रश्न उठेको जनाइएको छ । समयमा महाधिवेशन नभए कांग्रेसजस्तो ऐतिहासिक पार्टीको वैधतामाथि नै प्रश्न उठ्ने भन्दै विधान, नियमावलीअनुरूप न्यायपूर्ण ढंगले क्रियाशील सदस्यता विवाद टुंग्याएर महाधिवेशनको सुनिश्चितता गरिहाल्नुपर्ने माग रहेको छ ।

मुख्य गरी क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अनिश्चित भएको बताइएको छ । संस्थापन पक्षले विभिन्न राजनीतिक दलबाट कांग्रेसमा समाहित भएकालाई क्रियाशील सदस्यता दिने नाममा कांग्रेसका पुराना कार्यकर्तालाई पन्छाएको आरोप पनि संस्थापन इतर पक्षको छ । कांग्रेसका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानद्वारा वडा नगरका पदाधिकारीका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् । क्षेत्रीय प्रतिनिधिले जिल्ला कार्यसमितिका साथै महाधिवेशन र महासमिति समिति सदस्य चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय नेतृत्व निर्वाचित गर्छन् ।

कांग्रेसको सस्थापन इतर पक्षले विधिवत् रूपमा पार्टीको महाधिवेशन सम्पन्न नहुने, तरुण दललगायत भ्रातृ एवं शुभेच्छुक संघसंस्थाको अधिवेशन पनि वर्षौंसम्म नहुने हो भने कांग्रेसको छविलाई जनस्तरमा कायम राख्न नसकिने बताउन थालेका छन् । कांग्रेसको तरुण दल शीर्ष नेताहरूको भागबण्डामा टीका लगाएर छानिएका चार पदाधिकारीको भरमा रहेको वर्षौं भइसकेको छ । सबल कांग्रेस निर्माणका लागि युवा अभियानले सभापति देउवालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ– ‘कांग्रेसको यस्तै अवस्था रहिरहे आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने संयन्त्र निश्प्रभावी बन्छ ।’