लोकप्रिय पपस्टार क्रिस वुविरुद्ध बलात्कारको आरोप


बेइजिङ, (एजेन्सी) ।

चिनियाँ–क्यानाडाली मूलका पपस्टार क्रिस वुलाई बलात्कार गरेको आशंकामा चिनियाँ प्रहरीले गिरफ्तार गरेको छ ।

बेइजिङका प्रहरीले ती ३० वर्षीय स्टारविरुद्ध अनलाइनमार्फत थुप्रै कलिला युवतीहरूलाई पटक–पटक यौन सम्पर्क राखेर धोका दिने गरेको भनी लगाइएका आरोपमाथि केन्द्रित रहेर अनुसन्धान भइरहेको बताएका छन् ।

वुविरुद्ध पहिलो उजुरी यसै महिनाको शुरूमा दायर गरिएको थियो । ती महिलाले उनले आफूलाई मदिराले लठ्ठिएको समयमा यौन दुव्र्यवहार गरेको बताएकी थिइन् । चीनका निकै प्रतिष्ठित व्यक्तित्वको रूपमा चिनिने वुले भने आफूविरुद्ध लगाइएका सम्पूर्ण आरोप अस्विकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनलाई पहिलोचोटि आरोप लगाउने १९ वर्षीया विद्यार्थी दु मेइझुले भनेकी छन्– ‘मैले उनलाई १७ वर्षकी छँदा भेटेकी थिएँ । उनको घरमा पार्टी मनाउन मलाई बोलाइएको थियो । मलाई जबर्जस्ती रक्सी खान लगाइयो । बिहान सबेरै बिउँझिँदा मैले आफूलाई उनको पलङमा पाएँ । अन्य सात जना महिलाले पनि आफूलाई वुले जागिर र लगायत अन्य चिजको प्रलोभन देखाएर यौन सम्पर्क राखेको बताएका छन् । केही त नाबालिगसमेत छन् ।’

अहिलेसम्म कम्तिमा अन्य २४ जना महिलाले उनीविरुद्ध गुनासो गरिसकेका छन् । चीनको प्रचलित कानुनअनुसार १८ वर्ष उमेर मुनिकालाई नाबालिग भनिन्छ भने सहमतिपूर्वक यौन सम्पर्क गर्न पनि १४ वर्ष पुगेको हुनुपर्छ ।