कायम मुकाय प्रधानसेनापतिमा शर्मा नियुक्त

294
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गर्नु भएको छ । गत हप्ता बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई कायममुकाय प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो । सैनिक ऐन २०६३को दफा ८ को उपदफा (३) अनुसार राष्ट्रपति भण्डारीले उहांलाई कामु प्रधानसेनापतिमा नियुक्त गर्नु भएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २४ गतेबाट अनिवार्य अवकास पाउनुहुने भएपछि यही साउन २४ गतेबाट उहां एक महिने बिदामा बस्न लाग्नु भएको छ । कायम मुकायम प्रधानसेनापतिमा नियुक्त हुनु भएका रथी शर्माले स्वदेशमा सबै व्यवसायिक तालिमहरु सफलतापूर्वक सम्पन्न गर्नुको छ ।

उहांले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्याण्ड तथा पाकिस्तानबाट प्रति रक्षा र बंगलादेशबाट शान्ति सेना सम्बन्धी उच्चस्तरीय तालिम तथा सेमिनार पूरा गर्नु भएकोछ । यसको साथै नेपाली सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक र विगत १ वर्ष देखि बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारी पुरा गर्नु भएका शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी समस्याहरु तथा चुनौतीको बारेमा पुर्ण रुपमा ज्ञान हासिल गर्नु भएको छ ।

रथी शर्माले आफ्नो ३७ बर्षे लामो सैनिक सेवाको दौरान गुल्म, गण, बाहिनी, पृतनालगायत जङ्गी तथा सैनिक सचिव, भर्ना छनौट निर्देशक,नीति तथा योजना निर्देशक, सह–बलाध्यक्षका साथै युद्धकार्य महानिर्देशक, संभाररथी,बलाध्यक्ष र बलाधिकृतको जिम्मेवारी समेत पुरा गर्नु भएको छ । उहांले नेपाली सेनाको हरेक जिम्मेवारीको नजिकबाट अनुभव र ज्ञान रहेको छ ।

रथी शर्माले संयुक्त राष्ट्र संघको शान्ति मिशनको दौरान पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गर्ने अवसर प्राप्त गरी आफ्नो जिम्मवारी सम्पन्न गर्नुका साथै भारतमा सम्पन्न भएको नेपाल भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी हुनु भएको छ । उहाँलाई अन्तर्राष्ट्रियस्तरकाे विविध मामिलाहरुको बारेमा अनुभव रहेको छ भने ३ वर्षसम्म बंगलादेशमा सैनिक सहचारीको कार्यभार सम्हाली सकेको कारण वहाँको कार्यकालमा नेपाली सेनाको सैनिक कुटनीतिमा उल्लेखनीय परिणाम आउने अपेक्षा गरिएको सैनिक मुख्यालयले जनाएको छ ।

रथी शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एम.ए. र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एमफिल गर्नुभएको कारण उहाँले नेपालको मात्र नभएर विश्वको इतिहास लगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययन समेत गर्नुभएकोले नेपाली सेना र नेपालको इतिहासको संरक्षण तथा सम्बर्धन एवम् राष्ट्रिय सुरक्षाको सवालमा उहाँको विशेज्ञताको सदुपयोग हुने मुख्यालयले जनाएको छ ।

सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र ठोस निर्णय गर्ने क्षमताका लागि परिचित रथी शर्माको मुख्य प्राथमिकता कोभीड–१९ का कारण प्रभावित तालिमलाई सूचारु बनाई नेपाली सेनाको अपरेशनल क्षमतालाई अभिवृद्धि गर्नु रहेको छ भने अन्य प्राथमिकतामा तीन जोड एक अवधारणा अनुसारको पुनसंंरचनालाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउनु रहेको छ ।

यसको अलवा पूर्व प्रधान सेनापति थापाले शुरु गर्नु भएका सुधारका कार्यक्रमको प्रभावकारीता बारे मुल्याङ्कन गर्दै निरन्तरता दिने र संस्थागत गर्ने लगायत अधिकृतहरुको हौसला अभिवृद्धि गर्ने तथा जवान र तिनका परिवारको कल्याणका कार्यहरु उहाँको प्राथमिकताका क्षेत्र रहेका छन ।