लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका बिरामी बढे

280
Shares

यमलाल भुसाल, बुटवल ।

पछिल्लो दुई हप्तामा लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित विरामी बढेका हुन् । बजारमा किनमेल गर्ने उपभोक्ता र सार्वजनिक यातायातमा यात्रुको भीडभाड बढेको छ तर स्वास्थ्य सुरक्षामा हेलचेक्र्याई हुँदा संक्रमण दर पनि बढेको चिकित्सकहरु बताउंछन् ।

संक्रमित हुनेमा व्यवसायी, पेशाकर्मी लगायत कामकाजी उमेर समूहका रहेका छन् । एक सय जनाको पीसीआर परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टी हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताउनुभयो । रुपन्देही भन्दा छिमेकी जिल्लाहरु अर्घाखाँची, गुल्मी, कपिलवस्तु लगायतका जिल्लाबाट आएकाहरुमा कोरोना संक्रमण बढी देखिएको र हरेक दिन कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको डा. पाठकले बताउनुभयो ।

संक्रमित विरामी बढेसंगै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना वार्डको आईसीयूका २० वटै बेड भरिभराउ रहेका छन् । यस्तै २६ वटा एचडीयू बेडमध्ये १५ बेडमा र इमर्जेन्सीमा ११ जना कोरोना संक्रमित विरामी भर्ना भएका डा. पाठकले बताउनुभयो । सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाई भीडभाडमा निस्कने र मिल्दोजुल्दो लक्षण देखिंदा पनि परीक्षण नगर्ने परिपाटीले कोरोना संक्रमण बढेको डा. नन्दु पाठकको भनाई छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा साउन १ गतेदेखि १७ गते दिउसो ३ बजेसम्म एक सय ४४ जनाले ज्वरोका विरामी आएका छन् । ती मध्ये एक सय १६ जनालाई कोरोना चेकजाँच गर्न सुझाव दिइएको फिभर क्लिनिकमा कार्यरत प्यारामेडिक्स कमल गौतमले बताउनुभयो ।

कोरोना संक्रमणबाट जोगिन सबै नागरिकलाई सरकारले जतिसक्दो छिटो खोपको व्यवस्था गर्नुपर्छ । नागरिकले पनि भीडभाडमा जांदा मास्कको अनिवार्य प्रयोग, सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षामा हेलचेक्र्याई गर्न नहुने चिकित्सकहरुको सुझावलाई पालना गर्नु पर्दछ ।