![](https://newsofnepal.com/wp-content/uploads/2020/06/ramdev-pandit.jpg)
नीम :
तराईदेखि पहाडसम्म करिब ३ हजार फीटको उचाइसम्म पाइने तीतो वनस्पति हो नीम । संस्कृतमा महानिम्ब भनिने नीमलाई हिन्दीमा बकाइनो भनिन्छ । भारतीय महाद्वीपको मौलिक वनस्पति नीमलाई इन्डियन इलियाक भनिन्छ । नीमको वैज्ञानिक नाम मेलिया एजाडिरिक्था हो । नीमको अन्य प्रजातिहरु पनि हुन्छन् । नीमको पात, जरा, बोक्रा, फलको गुदी औषधिको रुपमा प्रयोगमा ल्याइन्छ । आयुर्वेदमा नीमलाई आर्शोघ्न (पाइल्स नाशक) वर्गको औषधिअन्तर्गत राखिएको छ । तीतो र टर्रो रसको कारण यो कफ र पित्तलाई घटाउने अनि ताप उत्पादक हुने भएकोले यसले वात बढाउँछ । नीमको बोक्राको भित्री भागमा एक्टिभ कम्पोनेन्ट हुन्छ । बोक्राको बाह्य सतहमा स्टार्च र टैनिन हुन्छ । यसको फलमा एजारिडिन (मार्गोसिन), एक प्रकारको तरलीय पदार्थ, अम्लीय पदार्थ, स्टिराल, टैनिन तथा स्टार्च रहेको हुन्छ । बीउबाट ४० प्रतिशत जति एक प्रकारको तेल निस्कन्छ । अमेरिकी संस्था रोसवेक पार्क क्यान्सर संस्थानका अनुसन्धानकर्ताहरूले सन् २०१४ मा गरेको एउटा अध्ययनअनुसार नीमको बीउ, पात, फूल र फलले विभिन्न क्यान्सरमा एन्टि–ट्युमर प्रभाव देखाउँछ । नीमले रोगप्रतिरोधी शक्ति बढाई सुन्निएको कम गरेर, फ्री रेडिकललाई हटाएर, हर्मोनल गतिविधिलाई रोकेर र कोषिका विभाजनमा बाधा उत्पन्न गरेर क्यान्सरको उपचारमा सघाउँछ ।नीमलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । दैनिकजसो नीमको प्रयोग गर्दा त्यसले मोटोपन घट्ने र उच्च रक्तचाप नियन्त्रणमा आउँछ ।त्यस्तै एउटा अर्को अध्ययनअनुसार, नीममा औलोविरुद्घको गुण हुन्छ । यसको पातले औलोविरुद्घ लड्न सघाउँछ । अनुहारमा बारम्बार डन्डीफोर वा ब्ल्याकहेड हुँदा नीमको पातको प्रयोग गरे आराम मिल्छ । नीमको पानीले अनुहार धुँदा यो समस्या कम हुन्छ । आयुर्वेद चिकित्साअनुसार नीममा पाइल्स नाशक (अर्शोघ्न वटी), ज्वरनाशक, दुखाइनाशक, कुष्ठनाशक, घाउ पकाउने र सफा गर्ने, रगत सफा गर्ने, मधुमेह नाशक, गर्भाशय संकोचक, पेटको जुका मार्ने, कीरा–फट्याङ्ग्रा भगाउने, कीटनाशक आदि विशेष गुण हुन्छ ।
![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2021/07/neem-leaves-powder-500-gms.jpg)
पुदिना :
पुदिनाको वैज्ञानिक नाम मेन्था स्पाइकेटा हो । अंग्रेजीमा पुदिनालाई नै स्पियर मिन्ट वा गार्डेन मिन्ट भनिन्छ । पुदिनाको अन्य प्रजाति पनि हुन्छन् । मेन्था पिपरिटाबाट पिपरमिन्ट निकालिन्छ । एकै वर्षमा पटक–पटक उम्रिने पुदिना सदावहार झाडीदार कडा डाँठ भएको वनस्पति हो । पुदिनाको बोटको उचाइ १ दखि २ फिटको हुन्छ । हल्का लाम्चो, सुगन्धदायी ग्रन्थियुक्त, खस्रो पातयुक्त पुदिनामा फूल पनि लाग्छ । पुदिनाको मूल स्थान इङ्ल्यान्डको उत्तरी भूभाग भए पनि अहिले नेपाल र भारतका लगभग सबै स्थानमा पाइन्छ । पुदिनाको प्रयोज्य अंग भनेको पात नै हो । पातमा सुगन्धित तेल पाइन्छ, जसले गर्दा यसको पात टिप्दा कडा सुगन्ध आउने हुन्छ । त्यसको अलावा पुदिनाको पातमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, मिनरल्स, क्याल्सियम, फस्फोरस, आइरन, कैरोटिन (भिटामिन ए), निकोटिनिक एसिड, राइबोफ्लेबिन, मियामिन, कपर आदि तत्वहरु पाइन्छन् ।![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2021/07/551-5517745_mint-leaves-png-pudina-transparent-png-768x533.jpg)