![](https://newsofnepal.com/wp-content/uploads/2021/07/collage-7-1.jpg)
– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ)
भनिन्छ, विश्वमा एक–अर्काको अनुहारसँग मिल्ने मानिस सातजना हुन्छन् रे ! एकपटक प्रख्यात हास्य कलाकार चार्ली चाप्लिनजस्तै देखिने मानिसहरुको प्रतियोगिता हुँदा सक्कली चार्ली चाप्लिन तेस्रो भएका थिए रे ! यहाँ उठान गर्न लागेको विषय के उस्तै वा दुरुस्तै देखिने मानिस, जनावर वा वनस्पति बनाउन सम्भव छ ? उस्तै वा दुरुस्तै भन्नाले फोटोकपी गरेजस्तो वा ऐनामा हेरेजस्तो ।
मानिसकै कुरा गर्ने हो भने हाम्रो नाक, रुपरङ्ग अनि जीउडाल के–कस्तो हुनेछ भन्ने कुरा हाम्रो कोषमा अन्तरनिहित वंशाणु–अंश (डीएनए) ले निर्देशित गर्दछ । यस अर्थमा डीएनएलाई इँटा बनाउने साँचोजस्तै मान्दा हुन्छ । प्राकृतिक तवरमा कतिपय वनस्पति, ढुसी एवं ब्याक्टेरियाको क्लोनिङका माध्यमबाट वृद्धि विकास हुने गरेकोमा हाल विज्ञानमा चामत्कारिक प्रगतिले पनि कृत्रिमरुपमा क्लोनिङ प्रविधिबाट उस्तै खालको अन्य जीव वा वनस्पति विकास गर्न सम्भव भएको छ ।
क्लोनिङ प्रविधिमा उस्तै खालको डीएनएको टुक्रा बनाउने क्रममा पुरानो खालको डीएनएलाई टुक्रा गरी छुट्याइन्छ र त्यसमा आशातीत (बनाउन चाहेको) डीएनएको टुक्रा जोडिन्छ । यसरी बनाइएको नयाँ डीएनएलाई कोषमा छिराइन्छ र आशातीत डीएनए रहेको कोष सफलतापूर्वक बने÷नबनेको छानिन्छ । सफलतापूर्वक बनेको डीएनएसहितको कोष जति छुट्याइन्छ । क्लोनिङ प्रविधि ब्याक्टेरिया, ढुसीजस्ता एक कोषीय जीवको हकमा सहज भए पनि प्राणी वा वनस्पतिजस्ता बहुकोषीय जीवको लागि जटिल छ ।
त्यसो त यही प्रविधि अपनाएर स्टेम सेलबाट भ्रूण तयार गरी मानव विकास एवं कतिपय रोगव्याधी निवारण गर्न सकिन्छ कि भनेर अनुसन्धान भइरहेको छ । क्लोनिङ प्रविधि अपनाई संकटापन्न वा अस्तित्वमा नरहेका पशुपक्षीको विकास, संरक्षण एवं संवद्र्धन गर्न सकिने आशा पलाएको छ । सन् १९९६ मा पहिलोपटक डली नामक भेडा क्लोनिङ प्रविधिबाट विकसित गरिएको थियो भने हालसम्म चेपागाँडा, माछा, गाई, मुसा, बिरालो, सुँगुर, बाँदर आदि गरी अनेक थरीका जनावरहरु उत्पादन गरिसकिएको छ ।
हाल विज्ञानमा चामत्कारिक प्रगतिले पनि कृत्रिमरुपमा क्लोनिङ प्रविधिबाट उस्तै खालको अन्य जीव वा वनस्पति विकास गर्न सम्भव भएको छ ।
![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2021/07/5efe202d988ee351b26ef857-768x432.jpeg)
पशुपक्षी एवं मानिसको हकमा यसअघि प्राकृतिकरुपमा यौनसम्पर्कविना र कृत्रिम गर्भाधान प्रक्रियामा डिम्ब र शुक्रकीटको मिलन नगरीकन सन्तान वृद्धि सम्भव थिएन । तर क्लोनिङ भनेको प्राकृतिक गर्भधारण वा जुम्ल्याहा बच्चाबच्ची पाउने प्रविधि भनेर गलत अर्थ लाग्न सक्छ । तर वास्तविकता त्यो होइन । क्लोनिङ प्रविधिबाट नयाँ वा आशातीत डीएनए विकसित गर्न सकिने भएपछि जुनसुकै जीवजन्तु विकास गर्न सकिने भयो । वनस्पति जगत्मा सदियौंदेखि क्लोनिङ प्रविधिको उपयोग भैरहेको भए पनि प्राणी विकास (विशेषतः मानिससँग सम्बन्धित) प्रसंगमा निकै विवाद छ ।
कतै विश्वभर हाल वितण्डा मच्चाइरहेको कोरोना भाइरस कुनै उद्देश्यका लागि कृत्रिमरुपमा तयार गर्दागर्दै ल्याबबाट चुहिएको त होइन भनेर चीनलाई आक्षेप लगाइरहेको बेला यो क्लोनिङ प्रविधि पनि दुईधारे तरबार साबित भएको छ । प्राणी, वनस्पतिको के कुरा ¤ वंशाणुगतरुपमा दुरुस्तै मानव कोष, तन्तु वा अर्को मानव तयार गर्न सकिने भएपछि के कस्तो बित्यास आउन पनि सक्ला त ? क्लोनिङ प्रविधिबाट निम्तिन सक्ने खतरालाई मध्यनजर गरी विश्वका धेरै देशलाई क्लोनिङ कडा, मध्यम खालको ऐन–कानुन नै तर्जुमा गरेका छन् । समग्रमा अहिलेको परिप्रेक्ष्यमा क्लोनिङबाट मानिस नै उत्पादन गर्ने वा बनाउने नियत छैन ।
मानव जीवनको हकमा क्लोनिङका दुईवटा उपयोगमध्ये उपचारात्मक क्लोनिङअन्तर्गत चिकित्सा क्षेत्रमा क्लोनिङ प्रविधिबाट विकसित कोष, तन्तुमा औषधिको प्रभावकारिता परीक्षण गर्न तथा मानवअंग प्रत्यारोपणमा पनि फाइदा पुग्छ कि भनेर अनुसन्धान प्रक्रियामा रहे पनि मेडिकल प्राक्टिसमा भने आइसकेको छैन । प्रजनन क्लोनिङअन्तर्गत वास्तवमै पूर्णरुपमै अर्को मानिस बनाउने प्रक्रिया प्रतिबन्धितसरह छ । तर पशुपालन क्षेत्रमा भने क्लोनिङ प्रविधिको व्यापक प्रयोग भैरहेको छ ।
मानव क्लोनिङका पक्षपातीहरुले उपचारात्मक क्लोनिङअन्तर्गत कतिपय बिरामी वा मानिसलाई मानव कोष वा अंग आवश्यक भए पनि दाता नभेट्टाइरहेका बेला, कतिपयको मानवअंग प्रत्यारोपणपछि स्टेरोइडलगायतका औषधि सेवन गरिरहनुपर्ने बाध्यता हटाउन, बुढ्यौलीको प्रक्रिया ढिला पार्न वा रोक्न, निःसन्तान दम्पतीले आफ्नै शारीरिक कोषबाट सन्तान उत्पादन गर्न किन नपाउने भन्ने दाबी गरिरहेका छन् । तर यस प्रविधिका विपक्षीहरुले मानव क्लोनिङ प्रविधि विभिन्न कारण मानव जगत्को लागि अझैँ सुरक्षित भइनसकेको र यसको गलत प्रयोग हुनसक्ने चिन्ता प्रकट गरेका छन् । तिनीहरुले क्लोनिङ प्रविधिबाट जन्मिएका मानिसहरु परिवार एवं समाजमा कसरी घुलमिल हुन सक्लान् भन्नेमा पनि आशंका नै रहेको बताएका छन् ।
जापानी अनुसन्धानकर्ताहरुद्वारा ८ वर्ष लगाएर गरिएको एक अनुसन्धानले क्लोनिङद्वारा विकसित जनावर बढी स्वस्थ र प्राकृतिक तवरबाट जन्मिएभन्दा कति पनि फरक नरहेको निष्कर्ष निकालेको छ । यस्तै अमेरिकी खाद्य प्रविधि संस्थाले क्लोनिङ प्रविधिबाट उत्पादित पशुपक्षीजन्य खाद्यवस्तु सेवन गर्न स्वीकृति दिएको छ । तर क्लोनिङ प्रविधिका विरोधीहरुले ती उत्पादनहरु मानव स्वास्थ्यको लागि हानिकारक रहेको दाबी गरिरहेका छन् ।
![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2021/07/human-cloning-pros-and-cons-768x432.jpg)
के तपाईंले जुरासिक पार्क नामक हलिउड चलचित्र हेर्नुभएको छ ? त्यस चलचित्रमा देखाइएजस्तै संसारबाट लोप भैसकेको डाइनोसर, म्यामोथ भनिने भीमकाय जीवजन्तुहरु क्लोनिङ प्रविधिबाट भटाभट उत्पादन गर्न थालिए भने यसको फाइदा वा हानिलाई सोच्नै पर्ने हुन्छ । संकटापन्न वा लोप हुन लागेका पशुपक्षीको उत्पादनको मामिलासम्म नरम विचार हुन सकिएला कि ? कहिलेकाहीँ चिडियाखाना वा जंगलबाट गल्तीवश शहर छिरेको बाघ, भालु वा गैंडाबाट त्राहिमाम हुनुपरेको अवस्था बरोबर देखिएकै छ । यस्तो अवस्थामा डाइनोसर, म्यामोथ वा हलिउड चलचित्र अवतारमा देखाइएजस्तो उड्ने पक्षी विकसित गरी तिनीहरुलाई स्वतन्त्र छाडिदिने हो भने जे पनि वितण्डा
निम्तिन सक्छ । हाल क्लोनिङ प्रविधिको सफलता दर ९.४ प्रतिशत (बढीमा २५ प्रतिशतसम्म) छ । त्यो पनि मुसाजस्ता परिचित खालका जनावरको हकमा । जंगली जनावरको हकमा क्लोनिङको सफलता एक प्रतिशत पनि छैन । वर्तमान परिस्थिति जे–जस्तो भए पनि भविष्यमा काम लाग्ला कि ¤ कुनै अर्को चमत्कार प्रविधि विकसित होला कि ¤ भन्ने आशाले अमेरिका तथा विश्वका अन्य देशहरुमा विश्वबाट लोप भैसकेका, लोप प्रायः भैसकेका वा संकटापन्न जीवजन्तुहरुको कोष चिस्याएर भण्डारण गरिराखिएको छ ।
स्टेम सेलको कुरा
मानौं तपाईंसँग ठिक्कको काठको मुढा छ । उक्त मुढा सिकर्मीलाई देखाउनुभयो भने कुनै मेच, टेबुल बनाउने सोच्ला । गृहिणीले उक्त मुढा चिरेर दाउरा बनाई खाना पकाउने र काष्ठ कलाकारले कुनै मूर्ति बनाउने सोच राख्ला । रेस्टुराँवालाले आकर्षक बस्ने सिट बनाउने सोच्ला । आखिर मुढा त मुढा नै हो नि ! विकल्प कति धेरै रहेछन् त ? हो, स्टेम सेललाई ठ्याक्कै बुझाउने नेपाली शब्द नभए पनि स्टेम सेल बीउ कोषजस्तै हो । यसबाट जुनसुकै खालको कोष निर्माण गर्न सकिन्छ । स्टेम सेल थेरापीबाट चिकित्सा विज्ञानमा कुनै रोग विशेष वा स्वास्थ्य समस्या निको पार्ने वा रोकथाम गर्न सकिएला भन्ने कुरामा अनुसन्धानकर्मीहरु लागिपरेका छन् ।
खासगरी हड्डीभित्रको रक्तमासी वा बोसोबाट निकालिएका यस्ता खालका स्टेम सेलहरु बढी प्रयोगमा आइरहे पनि विगत केही समयदेखि भर्खरै जन्मेका शिशुको नाभीबाट संकलित रगत पनि यसको लागि उपयोग गर्न सकिने भएको छ । स्वास्थ्य बिमाजस्तै पछिल्लो समय नाभीको रगत भविष्यको लागि सञ्चय गरिराख्ने बैंकको अवधारणा ल्याई भारतलगायत विकसित देशहरुमा राम्रो व्यापार भइरहेको छ ।
हालसम्म रक्तजन्य क्यान्सरमा रगतजन्य स्टेम सेल प्रत्यारोपण गरी सफलता हात लागिरहेको छ । यसको अलावा स्नायुसम्बन्धी, मधुमेह, मुटुको रोग, निःसन्तान, एचआईभी/एड्स, अन्धोपन, बहिरोपना, तालुको समस्या, मस्तिष्कघात, सुषुम्ना नलीको चोट, बाथको समस्या, क्यान्सर, अल्जाइमर्स (बिर्सिने रोग), पार्किन्सन्स आदि क्षेत्रमा पनि स्टेम सेल थेरापीको प्रभावकारितासम्बन्धी व्यापक अनुसन्धान भैरहेको छ । माथि दाउराको उदाहरण दिएजस्तै मेजेन्काइम स्टेम सेलबाट हाडजोर्नी र मांसपेशीसम्बन्धी हड्डी, कुरकुरे हड्डी, हड्डी र मासु जोड्ने बाक्लो तन्तु (लिगामेन्ट र टेन्डन), मांसपेशी, स्नायु बनाउन सकिने रहेछ ।
स्टेम सेल थेरापीमा समस्याग्रस्त कोष (अंग) को उपयुक्त स्टेम सेल प्रत्यारोपित गरिन्छ र समस्याग्रस्त कोषको पुनर्निर्माण हुँदै जान्छ । क्लोनिङ प्रविधि विवादास्पद भएजस्तै कृत्रिम गर्भाधान प्रविधि अपनाएर तयार गरिएको भ्रूणको स्टेम सेलको समेत चिकित्सकीय उपयोगिता भए पनि विवादरहित भने छैन । त्यसैले स्टेम सेल थेरापी र क्लोनिङ प्रविधिलाई गर्भपतनकै स्तरमा राखेर आलोचना गर्नेको कमी छैन ।