निरोगी हुने प्राकृतिक खाना

25.19k
Shares

– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक)

प्रकृतिको साथ छाडेर कृत्रिम जीवन यापन गर्न थालेसँगै मानिसको स्वास्थ्यमा संकट थपिँदै गएको छ । प्राकृतिक खानपानलाई त्याग्दै मानिसहरु हानिकारक तत्वहरु मिसिएको नयाँ स्वादको पछि लागेका छन् । यस कारण कम उमेरमै अनेक रोगबाट पीडित हुनुपरिरहेको छ । यो समस्या शहरी क्षेत्रमा मात्र नभई ग्रामीण भेगमा पनि उत्तिकै देखिन थालेको छ । यो समस्यालाई हटाउन जनजागरण आवश्यक छ । सरकारले प्राकृतिक खानपान र जीवन पद्धतिका पक्षमा स्पष्ट नीति र कार्ययोजना ल्याउनुपर्दछ ।

के हो प्राकृतिक खाना ?

प्रकृतिबाट प्राप्त हुने खाद्यवस्तुहरुको पोषण र गुणलाई नष्ट नगरीकन प्रयोग गरिएमा त्यो प्राकृतिक खानाको स्वरुप बन्दछ । यस्ता प्राकृतिक खानेकुराहरु वनस्पति र प्राणी स्रोतबाट पाइन्छ र त्यसलार्ई विकृत नबनाई प्रयोग गरिन्छ । तर हिजोआज प्रशोधित र परिष्कृत खानपानको बाहुल्यता बढिरहेको छ । धेरै मानिसमा प्रशोधित र परिष्कृत (Processed and Refined) खानेकुरा अझै राम्रो हो भन्ने भ्रम देखिन्छ । तर यस्ता खानाहरु स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन । प्राकृतिक खानेकुरा शुद्ध हुन्छ । प्राकृतिक खाना भनेको यस्तो खानेकुरा हो जुन प्रशोधित गरिएको हुँदैन वा प्रशोधित कुराहरु मिसिएको हुँदैन । यसमा कृत्रिम स्वाद, गन्ध तथा रंग र सड्न नदिनको लागि प्रयोग गरिने रसायन (प्रिजर्भेटिभ) लगायत अन्य औषधि हर्मोन, प्रतिजैविकी, कृत्रिम गुलियो र अतिरिक्त कृत्रिम पोषणहरु पनि मिलाइएको हुँदैन ।

प्रकृतिले दिएको खानेकुरालाई सम्भव भएसम्म पूर्ण स्वरुपमा प्रयोग गर्नुपर्छ । खान सम्भव हुने कुराहरुको बोक्रा ताछेर, चोकर निकालेर, रेसा वा गुदी फालेर खाँदा त्यो खान अपूर्ण बन्दछ । त्यसैले अन्न, फलफूल, तरकारी आदिको खान मिल्ने भागलाई नफालीकन वा नछुट्याईकन सर्वाङ्ग खाँदा त्यो पूर्ण स्वरुप मानिन्छ । यसबाट पोषणको मात्रा बढी पाइन्छ । तर हामीले पूर्ण भाग नखाई पोषण, पाचन एवं निष्कासनलाई अत्यावश्यक पर्ने रेसा (फाइबर) फालेका हुन्छौं । उदाहरणका लागि गहुँको चोकर फालेर मैदा, स्याउ–अम्बाका बोक्रा पनि ताछेर, फलफूलको रसमात्र निकालेर भित्रको गुदी र छोक्रा (फाइबर) फालेका हुन्छौं । बोक्रासहित खान सकिने तरकारीहरु जस्तै– आलु,

घिरौंला, फर्सी, लौका आदिको कलिला बोक्रा पनि फाल्छौं वा बाक्लोसँग ताछेर पोषण नष्ट गर्दछौं । यसो नगरी खान मिल्नेजति सबै खानु नै प्राकृतिक खाना हो ।

प्राकृतिक खानपानले शरीरमा एकत्रित भएका विकारलाई बाहिर निकाल्छ र शरीरको शोधन गर्छ । यसले शरीरको निर्विषीकरणमा सहयोग गर्छ ।

प्राकृतिक खानपान स्वच्छ, मिसावटहीन एवं वास्तविक स्वरुपमा रहेको हुन्छ । तर मानिसहरुले कृषि उत्पादन गर्ने माटो, बीउबीजन र बोटबिरुवादेखि नै विषादी, कीटनाशक, रासायनिक मल आदिको प्रयोग गरेर हानिकारक बनाइरहेका छन् । यसरी नै उत्पादन र भण्डारण गर्ने, खाद्यवस्तु तयार गर्ने, आपूर्ति गर्नेसम्म आइपुग्दा मिसावटका अनेक चरणहरु पार गरिसकेका हुन्छन् । खाना बनाएर खाइसक्दासम्म अनेक कृत्रिम रसायनयुक्त मरमसला वा हानिकारक तत्वहरु पर्ने सम्भावना रहन्छ । त्यसैले मिसावट नभएको, स्वच्छ र प्राकृतिक स्वरुपमा खानुपर्दछ ।

प्राकृतिक खानपानको महत्वपूर्ण पक्ष भनेको यो सजिलै पच्ने र आन्द्राहरुमा अनावश्यक बोझ नपार्ने गुण पनि हो । प्रायः खानेकुरालाई प्राकृतिकरुपमा क्षमताअनुसार खाँदा पाचनक्रियामा मात्र सहजता हैन, निष्कासन कार्यमा पनि समस्या हुँदैन । पेट सफा हुन्छ, कब्जियत हुँदैन । विशेषगरी रेसा तथा चोकरयुक्त पदार्थ, फलफूल, काँचो सलाद, टुसाएका काँचो गेडागुडीमा तीव्र निष्कासन गर्ने र जीवनदायिनी क्षमता रहेको हुन्छ ।

प्राकृतिक खानपान सही ढंगले प्रयोग गर्दा शरीरमा कुनै पनि हानि नोक्सानी हुँदैन । जस्तै– भिटामिन ‘ए’ बढी पाइने खानेकुराहरु बढी खाँदा त्यसले शरीरमा नकारात्मक असर पार्दैन वा असर भैहाले पनि सामान्य समस्या होला । तर कृत्रिम भिटामिन ‘ए’ को मात्रा बढी भयो भने त्यसबाट कलेजोलगायत आन्तरिक अंगहरुलाई नराम्रो असर गर्न सक्छ ।

प्राकृतिक खानपानले शरीरमा एकत्रित भएका विकारलाई बाहिर निकाल्छ र शरीरको शोधन गर्छ । यसले शरीरको निर्विषीकरणमा सहयोग गर्छ । अर्थात् शरीरको सफाइका क्रममा हानिकारक विषाक्त तत्वलाई समेत हटाउँछ । प्राकृतिक खाना प्रयोग गर्दा स्वास्थ्यको विकास हुन्छ । शरीरको व्यवस्थित सुरक्षा, पोषण, निर्माण र विकास, रोग–प्रतिरोधी क्षमता, रोगको चिकित्सालगायतका कार्यहरुमा प्राकृतिक भोजनले विशेष योगदान गरेको हुन्छ ।

कृत्रिम गुण भएको खानपानलाई हामी अप्राकृतिक खाना वा अवगुण र समस्यायुक्त खानाको रुपमा लिन सक्छौं । अप्राकृतिक खाना पकाउन र खान सजिलो एवं स्वादिलो त होला तर त्यसबाट अनेक समस्याहरु जन्मिन सक्छन् । अप्राकृतिक खानाबाट शरीरमा रोग लाग्छ, आन्तरिक अंगहरु कमजोर बन्छन् । अप्राकृतिक खानामा उचित पोषण हुँदैन । अतिरिक्त क्यालोरी वा ऊर्जा बढी पाउन सकिने तर त्यो असन्तुलित हुने हुँदा शरीरका निम्ति अभावजन्य समस्याहरुलगायत अन्य रोगहरु लाग्न सक्छ ।

खानेकुरा कसरी अप्राकृतिक भयो ?

मानिसहरु जानाजान प्राकृतिक खानपानलाई अप्राकृतिक बनाएर त्यसको गुण र पौष्टिकतालाई नष्ट गरिरहेका छन् । यसो गर्नुको उद्देश्य धेरै दिन टिकाउने व्यावसायिक दृष्टिकोण हो । साथै स्वाद, बासना, रंग, सजावट आदिले मानिसलाई लोभ्याउने अनेक उद्देश्यले खानपानको गुण र प्रकृतिमाथि नै खेलबाड भएको छ । प्रशोधित, परिमार्जित एवं परिष्कृत यस्ता खानपानले एकछिन् सन्तुष्टि त देला तर स्वास्थ्य भने पक्कै बिगार्ने गर्दछ ।

कृषि उत्पादन हुने खेतबारीमा रासायनिक मल, विषादी, कीटनाशक हाल्न शुरु गरेदेखि नै खानेकुरा अप्राकृतिक र हानिकारक हुने क्रम देखिन्छ । त्यसपछि पनि काँचो फलहरु पकाउन, ताजा देखाउन, फल, तरकारी वा अन्नलाई कीरा पर्नबाट जोगाउन र यसका परिकारहरु बनाउँदा स्वाद, बासना, रंग, स्वरुप आदिका रुपमा गरिने विभिन्न रासायनिक मिश्रणहरुले थप अप्राकृतिक बनाएको हुन्छ । अझ पत्रु खानाका रुपमा बनेको तयारी खाना होस् वा घरमै बनाउँदा पनि पकाउने क्रममा पकाउने गलत तरिका अपनाउने, मिसावट गर्ने आदिले समेत भोजनमा भएको पोषण तथा गुणहरुलाई नष्ट गरिराखेको हुन्छ । यसबाट किसान, उपभोक्ता आदि सबै नै क्यान्सरलगायत अनेक प्रकारका आनुवंशिक समस्याहरुबाट  पीडित हुनुपरेको छ ।

ताजा खानेकुरालाई अनेक प्रक्रियाबाट खासगरी व्यावसायिक प्रयोजनका लागि खाद्यवस्तुका रुपमा तयार गरिने कार्यलाई प्रशोधन भनिन्छ । खानपानमाथिको रुपान्तरणमा सामान्यरुपले मात्र गरिएको छ भने सामान्य प्रशोधित मानिन्छ । धेरै थरीका प्रक्रिया, मिश्रण, रसायन र प्रविधि प्रयोग गरी अत्यधिकरुपमा रुपान्तरण गरिएको छ भने त्यसलाई अति प्रशोधित (Ultra processed) भनिन्छ । प्रशोधनका लागि ताजा खानेकुरालाई धुने, काट्ने, पाश्च्युराइजेसन (पकाएर कीटाणुरहित बनाउने), फ्रिजमा जमाएर राख्ने, फर्मेन्टेसन गर्ने (खानेकुरालाई अक्सिजनरहित बनाई शरीरलाई चाहिने खालको सूक्ष्म जीवाणुहरु जस्तै– यिस्ट, ब्याक्टेरिया, मोल्ड, उत्पादन गर्ने प्रक्रिया), विविध तत्वहरु मिश्रण गर्ने, पकाउने, सड्न नदिने केमिकलले सुरक्षित राख्ने, प्याकिङ गर्ने, भण्डारण गर्ने आदि अनेक विधिहरु अपनाइन्छ । यसका कारण खानेकुराको प्राकृतिक क्षमता हराउँछ । तर अप्रशोधित ताजा खानेकुरामा प्राकृतिक गुण कायम रहन्छ । प्रशोधनको विधि जति धेरै अपनायो त्यति नै खानेकुराको प्राकृतिक गुण बढी नष्ट हुन्छ, अप्राकृतिक हुन्छ र हानि पनि त्यत्ति नै मात्रामा बढी हुन्छ ।

खानेकुरालाई राम्रो देखिने र स्वादिलो बनाउन खानाका उपयोगी प्राकृतिक तत्वहरुलाई अलग्याउने वा फरक प्रकृतिको बनाउने प्रक्रियालाई परिष्कृत खाद्यवस्तु भनिन्छ । सोलार मिलमा कुटेको चिल्लो चामल, चोकर निकालेको सेतो पीठो वा मैदा, चिनी, मैदाबाट बनेका परिकारहरु जस्तै– बिस्कुट, पाउरोटी, चकलेट, चीज, माछामासुका परिकारहरु जस्तै– ससेज, सलामी, बट्टामा प्याक गरिएका माछामासु आदिसमेत परिष्कृत खानेकुरा हुन् । यसरी नै भुटेर, अनेक कुरा मिसाएर परिष्कृत गरी प्याक गरिएका मकै, गेडागुडीहरु, सुख्खा फलफूल आदि पनि देख्दा प्राकृतिक हुन्छन् तर कमै भए पनि ती समेत परिष्कृत हुन् ।

प्रशोधित खानाका दुर्गुणहरु

थोरैमा बढी क्यालोरी: मानिलिऊँ, एउटा प्याकेटभित्रको एक सामान्य बिस्कुटमा करिब ५० क्यालोरी हुन्छ । यदि १० वटा भएमा ५ सय क्यालोरी हुन्छ । तर एउटा मध्यम खालको स्याउमा करिब ९५ क्यालोरी हुन्छ । यही दुईवटामा तुलना गर्दा दुई टुक्रा बिस्कुटभन्दा धेरै तौल हुने स्याउ कम क्यालोरीको छ । यसरी एक प्याकेट खानु भनेको पाँचवटा स्याउ खाने बराबरको क्यालोरी हुन्छ ।

उच्च क्यालोरी, चकलेट तथा क्रिम भएको बिस्कुट वा बर्गर, पिज्जा, जाम आदि बच्चाहरुले बढी खाने गर्दा मोटोपना हुनसक्छ । यसले गर्दा कम उमेरदेखि नै मोटोपना र अरु रोग लाग्ने हुन्छ । ठूला व्यक्तिले पनि यसरी खाँदा अत्यधिक क्यालोरीका कारण अनेक समस्या आउन सक्छ ।

पाचनमा गडबडी: प्रायः प्रशोधित खाना छिटो पच्ने खाल्का हुन्छन् । यसरी उच्च क्यालोरीयुक्त प्रशोधित खाना छिट्टै पचेमा त्यसलाई शरीरले पचाउन मेहनत गर्नु नपर्ने हुँदा मेटाबोलिजम (चयापचय वा उपाचय) मा शरीरको ऊर्जा त्यति खर्च हुँदैन । तर छिटो पचेका कारण छिट्टै भोक लाग्ने र मोटोपन पनि बढ्ने हुन्छ । तर कतिपय व्यक्तिहरुलाई पाचन र निष्कासनमा समेत भारी खानपानका कारण समस्या आउन सक्छ ।

रोगकारक: अति प्रशोधित तथा परिष्कृत खानपानबाट धेरै रोग जन्मने कुरा अध्ययनहरुले देखाएका छन् । मुटु तथा रक्तनलीका रोगहरु, पेट एवं पाचन ग्रन्थि तथा आमाशय र आन्द्राका रोगहरुलगायत क्यान्सरको समस्या हुने पनि जनाइएको छ । पेटमा अम्ल बढाउने, ग्यास्टिक (ग्यास्ट्राइटिस), कब्जियत, आन्द्राहरु सुन्निने (कोलाइटिस), अलकाई (पाइल्स) लगायत कम्मर तथा छाती दुख्ने आदि समस्याहरु हुन्छन् । अप्राकृतिक खानपानको फलस्वरुप हाडजोर्नी, नसा र मांसपेशीमा दुखाइ, कमजोरी र अन्य रोगहरु लाग्न सक्छन् । यस्ता खानेकुराहरुमा चिनी, नून, चिल्लो, बढी तताइएको चिल्लो आदिका कारण पहिले मोटोपना र त्यसपछि मधुमेह आदि थुप्रै रोगहरु जन्मेका देखिन्छन् ।

लत लाग्ने: विभिन्न प्रकारका स्वाद, गन्ध आदिका रसायनहरुको प्रयोगले यस्तो खानामा बानी हुने र लत बस्ने हुन्छ । यस्तो कुराबाट बच्चाहरुमा झन् बढी आशक्ति बढेर समस्या आउने गर्दछ ।

प्रतिरोधक क्षमतामा कमी: कृत्रिम खानाले हाम्रो प्राकृतिक रोग–प्रतिरोधक क्षमतालाई नष्ट गर्दै लैजान्छ । यसबाट हामीलाई भविष्यमा कडा खालका समस्याहरु हुने सम्भावना रहन्छ ।

औषधि नै खाना

प्राकृतिक चिकित्सामा शरीरको शोधन गर्न र रोग निको पार्न आहार चिकित्सा वा डाइट एन्ड न्युट्रिसन थेरापीको प्रयोग गरिन्छ । खाना ठीकसँग खाँदा त्यसले स्वास्थ्यलाई ठीक राख्छ र रोग लागेको अवस्थामा प्राकृतिक, शोधक र निर्विषीकरण गर्ने खानाहरुले रोगोपचारमा समेत सघाउ पु¥याउँछ । औषधिका पिता हिपोक्रेटसले खानापानबाट नै स्वास्थ्य ठीक राख्नुपर्छ भन्ने विचार सर्वप्रथम राखेका थिए । उनले औषधि र औषधिका रुपमा पनि खाना नै खानुपर्छ भनेका थिए, जुन अत्यन्त महत्वपूर्ण र सान्दर्भिक छ । अर्गानिक र ताजा खाएर जीवनका आधा समय कटाएका हामी त जोखिममा छौं भने मिसावट र अप्राकृतिक खानाका साथ हिँड्ने नयाँ एवं भावी पुस्ताको भविष्य कस्तो होला ? सोच्नै पर्ने कुरा हो ।