एससीओ बैठकमा भाग लिन राजनाथ सिंह दुसान्बे प्रस्थान



इन्डिया न्युज नेटवर्क ।

साङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूका रक्षामन्त्रीहरूको वार्षिक बैठकमा भाग लिन रक्षामन्त्री राजनाथ सिंहले मंगलबार दुसान्बेको तीनदिने भ्रमण शुरू गरेका छन् ।

रुस, चीन, पाकिस्तान र बाँकी चार मध्यएसियाली देशहरू जस्तै कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानका रक्षामन्त्री पनि यस बैठकमा सहभागी हुँदैछन् । सो बैठक यही जुलाई महिनाको २७ तारिखदेखि २९ तारिखसम्म आयोजना हुनेछ ।
यस वर्ष एससीओको अध्यक्षता ताजिकिस्तानले गर्दै छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार जुलाई २८ तारिखका दिन ताजिकिस्तानको राजधानीमा एससीओ रक्षा मन्त्रीहरूको वार्षिक बैठकमा राजनाथ सिंहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा सुरक्षा सहयोगलाई लिएर एससीओका सदस्य राष्ट्रहरूबीच छलफल हुने भनिएको छ । विचार विमर्शपछि एक विज्ञप्ति जारी गरिनेछ ।

आफ्नो भ्रमणका क्रममा द्विपक्षीय मुद्दा र आपसी हितजस्ता विषयमा चर्चा गर्न रक्षामन्त्रीले आफ्नो ताजिक समकक्षी कर्नल जनरल मिर्जोसँग पनि भेट गर्नेछन् ।

गत वर्ष सेप्टेम्बरमा सिंहले साङ्घाई सहयोग संगठन (एससीओ)को रक्षामन्त्रीको बैठक, सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) र राष्ट्रकुल स्वतन्त्र राज्य (सीआईएस) का सदस्य राष्ट्रहरूको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।

सन् २०१८ को अप्रिल महिनामा पहिलोपटक भारतले बेइजिङ मा आयोजित एससीओको १५औं संस्करण बैठकमा सहभागिता जनाएको थियो । यसअघि सन् २०१७ मा भारत अन्तर सरकारी संगठनमा सामेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्