जिन्स लगाएको निहुँमा किशोरीको हत्या



नयाँदिल्ली, (एजेन्सी) ।

गतसाता भारतको उत्तरी राज्य उत्तर प्रदेशमा एक परिवारले जिन्स लगाएकै निहुँमा १७ वर्षीया नेहा पासवान नामकी किशोरीको कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पीडित किशोरीकी आमा शकुन्तला देवीले बीबीसी हिन्दीलाई भनेकी छिन्– ‘दिओरिया जिल्लाको सावरेजी खर्गस्थित परिवारकै घरमा लगाइएको जिन्सको लुगालाई लिएर बाजे र काकाहरूले लठ्ठीले बेस्सरी पिटेर मेरी छोरीको हत्या गरेका हुन् । छोरीले एकदिने धार्मिक उपवास बसेकी थिइन् । साँझ उनले पूजाका बेला जिन्स र टप लगाइन् । आफ्नो बाजे बज्यैले उनको लुगालाई लिएर आपत्ति जनाए ।’

तर, नेहाले जिन्स पनि लगाउनै बनाइएको भन्दै जिन्स लगाउने अडान लिएकी थिइन् । विवाद चर्किंदै गरेपछि त्यसले हिंसाको रूप लियो । बेहोस अवस्थामा फुपूहरूले उनलाई अटोरिक्सामा राखेर अस्पताल लगे । मलाई सँगै नलगेकाले मैले आफन्तलाई घटनाबारे सूचना दिएँ ।

तर, तिनीहरूले नेहालाई अस्पतालमा भेटाउन सकेनन् । भोलिपल्ट बिहान गण्डक नदीमाथिको पुलमा उनको शव झुन्डिरहेको अवस्था पाइएको खबर पाएँ ।’ प्रहरीले यस सम्बन्धमा अटोरिक्सा ड्राइभर र उनको परिवारका सदस्यलगायत १० जनाविरुद्ध हत्याको मुद्दा दायर गरेको छ ।

भारतको प्रतिद्वन्द्वी मुलुक पाकिस्तानमा पनि परिवारको इच्छा वा अनुमतिबिना प्रेम सम्बन्ध राख्ने महिलाहरूको परिवारकै सदस्यबाट हत्या हुने गरेको छ । ‘प्रतिष्ठाका लागि हत्या’ बाट पनि चिनिने यस्ता घटनालाई प्रहरीले पनि त्यति चासो नदिने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्