गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय

518
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा अमिक शेरचनलाई नै प्रदेश प्रमुख बनाउन सरकारलाई सिफारिश गरेको छ । केपी शर्मा ओली नेतृत्त्वको पूर्ववर्ती सरकारले गत वैशाख २० गते शेरचनलाई हटाएर सीता पौडेललाई प्रदेश प्रमुख बनाएको थियो ।

शेरचनलाई अपमानजनक ढंगले फिर्ता गरिएको भन्दै उनलाई नै प्रदेश प्रमुख बनाउन सिफारिश गरिएको माओवादी स्रोतले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलवार बिहान भेटेर माओवादी अध्यक्ष प्रचण्डले नाम बुझाएको बताइएको छ । सरकार परिवर्तन भएपछि यसअघि केपी शर्मा ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख फेर्ने गृहकार्य भइरहेको छ ।

गण्डकी, लुम्बिनी र प्रदेश २ को प्रदेश प्रमुख फेर्ने तयारी सत्ता गठबन्धनको हो । माओवादीले आफ्नो भागमा परेमा प्रदेश २ मा तिलक परियार र सुदूर पश्चिममा ओली सरकारले हटाएकी शर्मिला त्रिपाठीलाई नै प्रदेश प्रमुख बनाउने तयारी गरेको छ ।