पहिले कोरोनाविरुद्धको खोप अनि मात्र शैक्षिक गतिविधि

28
Shares

नेपाल समाचारपत्र, पाल्पा ।

जिल्लाका शिक्षकहरूले कोरोना महामारीका बेला पहिले खोपको व्यवस्था गरेपछि मात्र प्रत्यक्षरूपमा शैक्षिक गतिविधिहरू अघि बढाउन सकिने भएकाले तुरुन्त खोपको व्यवस्था गर्न माग गरेका छन् ।

सरकारले शिक्षक, प्राध्यापकहरूलाई दोस्रो प्राथमिकतामा राखेकोमा पाल्पामा भने तेस्रो प्राथमिकतामा राखेपछि उनीहरू आक्रोशित हुँदै अविलम्ब खोपको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

जिल्लामा क्रियाशील नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनजस्ता संगठनहरूले अघिल्लो हप्ता नै सरोकारवाला निकाय प्रमुख जिल्ला अधिकारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लगायतसँग यस विषयमा लिखित र मौखिकरूपमा जानकारी गराउँदै ज्ञापन पत्रसमेत बुझाइसकेका छन् भने पछिल्लो समयमा जिल्लाको रिब्दीकोट गाउँपालिकाका शिक्षकहरूले कोरोना विरुद्धको खोप नपाए शैक्षिक क्रियाकलापहरू सञ्चालन नगर्ने चेतावनीसमेत दिएका छन् । उनीहरूले जोखिम मोलेर शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्नुपरेको भन्दै तत्काल खोप व्यवस्था नगरे सम्पूर्ण शैक्षिक गतिविधिहरू रोक्ने चेतावनी दिएका हुन् ।

सरकारले शिक्षक, प्राध्यापकहरूलाई दोस्रो प्राथमिकतामा राखेकोमा पाल्पामा भने तेस्रो प्राथमिकतामा राखेपछि तत्काल यसको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । नेपाल शिक्षक संघ रिब्दीकोटका अध्यक्ष गोपालजंग रायमाझीले जिल्ला तथा स्थानीय सरकारले शिक्षकप्रति संवेदनशील नबनेकोे आरोप लगाउँदै तत्काल खोपको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

शिक्षकहरूले प्रत्यक्ष विद्यार्थी तथा अभिभावकसँग सम्पर्क हुने शिक्षकहरूलाई खोपको लागि व्यवस्था गर्न अपिल गर्दै पालिकाभरिका शिक्षक तथा कर्मचारीहरूले खोपका लागि गाउँपालिकामा ज्ञापन पत्र बुझाएको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार रिब्दीकोट गाउँपालिकाभित्रका पेशागत संघ, संगठन, प्रअको सामूहिक निर्णयले खोपको व्यवस्था नगर्दासम्म विद्यालयमा भएका अनलाइन कक्षा र कक्षा ११/१२ का परीक्षा, ईएमआईएस भर्ने काम, लगायत विद्यालयका सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय भएको नेपाल राष्ट्रिय शिक्षक संगठन रिब्दीकोटका अध्यक्ष रुद्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।

जिल्लामा खोपको मागअनुसार कम परिमाणमा खोप आएको हुनाले पछिल्लो समय ५५ वर्षमाथि उमेर समूहका व्यक्तिलाई मात्रै खोप दिइएको र खोप आपूर्ति भएपछि क्रमशः सरकारको प्राथमिकताअनुसार नै खोप लगाइने स्वास्थ्य कार्यालयको भनाइ छ ।