सामाजिक सञ्जालमा बस्नेत र संग्रौलाको घम्साघम्सी

182
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

नेकपा एमालेका नेता महेश बस्नेतले आफूले नागरिक अगुवा खगेन्द्र संग्रौलालाई धम्की नदिएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता बस्नेतले धम्काउने थर्काउने आफ्नो स्वभाव नभएको बताउनुभएको छ ।

‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन् । गाली शिरोमणिको उपमा पाएका बाजे अरूलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् ।’ बस्नेतले लेख्नुभएको छ– ‘म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ । धम्काउने थर्काउने मेरो शैली होइन ।’

बस्नेतले संग्रौलालाई धम्की दिन आवश्यक नरहेको पनि बताउनुभएको छ । ‘जहाँसम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषणा सभामा मैले बोलेको विषय छ । न खगेन्द्र बाजेलाई धम्की दिएको छु । न माधव नेपाल कमरेडलाई थर्काएको छु । न त्यसो गर्न आवश्यक नै छ ।’

बस्नेतले लेख्नुभएको छ– ‘युथ फोर्सले जाई कटक नगर्नु झिकी कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ । सहज ढंगले आफ्नो लक्षमा हिँड्नेछ । बाधा अडचन आइपरे मात्र हटाउनेछ ।’ एमालेको पंक्ति र जनतासँग शत्रुता साँध्ने शक्तिबाहेक कोही त्रसित हुन आवश्यक नभएको उहाँको तर्क छ ।

उता संग्रौलाले महेश बस्नेतले साइबर सेना लगाएर आफूलाई तह लगाउने प्रत्यक्ष धम्की दिएको उल्लेख गर्नुभएको थियो । संग्रौलाले ट्विटरमा लेख्नुभएको छ– ‘तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला, धन्य ओली सर !’

‘शाही निरंकुशतामा मण्डलेका र संकटकालमा शाही सेनाको परोक्ष धम्की झेलेको थिएँ । अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए’ –संग्रौलाले एमालेका युवा नेता बस्नेतले आफ्नो ट्विटरमार्फत आफूलाई धम्की आएको सार्वजनिक गर्नुभएको हो । एमाले अध्यक्ष केपी ओली सर्वोच्चको गत असार २८ को आदेशपछि पदच्यूत हुनुभएपछि भोलिपल्ट एमाले पार्टीको युवा संघले ‘लडाकु दस्ता’ युथ फोर्स ब्युँताएको घोषणा गरेको थियो ।

संग्रौलाले भन्नुभएको छ– ‘संसारका सबै पश्चगामी विवेकसँग डराउँछन् । स्वतन्त्रताको पक्षमा हक्की भएर बोल्नेहरूलाई सधैं सबैतिर यस्ता धम्की आउने इतिहास छ । महेश बस्नेतबाट आएको धम्कीले नेपाली समाजको दक्षिणपन्थी आपराधीकरण, दक्षिणपन्थी असहिष्णुता र प्रतिशोध टुंगिएको छैन, अझै यसको इतिहास लामो छ भन्ने देखाउँछ ।’

‘अस्तिसम्म केपी ओली र उनका पक्षधरलाई सिंगो समाजको सत्य हामीले बोलेका छौं, सिंगो समाजको कल्याणको प्रतिनिधित्व हामीले गरेका छौं र हाम्रो आयु अनन्त छ भन्ने लागेको थियो’, उहाँ भन्नुहुन्छ– ‘तर सर्वोच्च अदालतको पछिल्लो आदेशले त्यो भत्काइदियो ।’
‘आफूले कल्पनै नगरेको निर्णयपछि एमालेमा एक किसिमको विक्षिप्तता उत्पन्न भएको छ । महेश बस्नेतको तह लगाउने धम्की त्यही विक्षिप्त मनोदशाबाट आएको बर्बराहट हो’ –उहाँको भनाइ छ ।