राज्यमन्त्री श्रेष्ठले भ्रमलाई गलत सावित गर्ने

8.37k
Shares

न्युज अफ नेपाल, हेटौंडा।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हाल देखिएको भ्रमलाई गलत साबित गरेर देखाउने दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइएपछि भइरहेका टीकाटिप्पणीबारे प्रतिक्रिया दिँदै नेता बानियाँले श्रेष्ठले संघर्ष गर्दै स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा सफलता हासिल गरेकाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गरेर हल्लालाई गलत साबित गर्ने बताउनुभएको हो । उहाँले श्रेष्ठ नेतृत्वको स्वास्थ्य मन्त्रालयले चाँडो भन्दा चाँडो खोपको व्यवस्था गर्नसक्ने विश्वासका आधारमा प्रधानमन्त्री देउवाले जिम्मेवारी दिएको बताउनुभयो ।

नेपाली समाजमा गरिखाने र ठगी खाने वर्ग रहेको बताउँदै बानियाँले श्रेष्ठ गरिखाएको व्यक्ति भएकाले स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्न सक्षम रहेको बताउनुभयो । उहाँले नागरिकलाई कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न श्रेष्ठ लागिपर्ने भन्दै अघिल्लो सरकारको पालामा स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार भएको दाबी गर्नुभयो ।

उहाँले एमाले सरकारमा व्यावसायिक पृष्ठभूमिका रघुवीर महासेठ र उनकी पत्नी मन्त्री भएको उदाहरण दिँदै श्रेष्ठको भोजपुरबाट आउँदाको गरिबी र त्यसबाट संघर्ष गर्दै पाएको सफलता नदेख्नेले हाल अफवाह फैलाएको बताउनुभयो । झुपडीबाट आएको व्यक्ति राज्यको संयन्त्रमा पुगेको बताउँदै हाल फैलाइएको भ्रम श्रेष्ठ स्वयम्ले चिर्ने बानियाँको विश्वास छ ।

श्रेष्ठ पार्टीलाई योगदान र समाजसेवा गर्न आएको सामाजिक र राजनीतिक व्यक्ति भएको बताउँदै उहाँले श्रेष्ठले आफूले केही लिने भन्दा पनि पार्टी र समाजलाई योगदान गर्ने दाबी गर्नुभयो । उहाँले भारत र अमेरिकामा पनि व्यावसायिक व्यक्तित्व राजनीतिका विभिन्न पदमा पुगेको उदाहरण दिनुभयो । कम्युनिष्ट पार्टीका नेताहरुप्रति इंगित गर्दै उहाँले हिजो चप्पल लगाउनेहरु कहाँ पुगे त्यसबारे चर्चा किन नभएको भन्दै कटाक्ष गर्नुभयो । कांग्रेसका नेता मन्त्री बन्दा पैसाको अनावश्यक चर्चा गरेको भन्दै उहाँले खण्डन गर्नुभयो ।