२१ करोडभन्दा बढी राजस्व संकलन

564
Shares

नेपाल समाचारपत्र, गुल्मी । 

करदाता सेवा कार्यालय गुल्मीबाट आर्थिक वर्ष २०७७÷७८ मा २१ करोड ६० लाख ४६ हजार रुपियाँ राजस्व संकलन भएको छ । जसमध्ये आयकर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, ब्याज कर ५० लाख, भ्याट कर १० करोड ४८ लाख र अन्तःशुल्क कर ७१ लाख रुपियाँ संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख टंक भुसालले जानकारी दिनुभयो ।

कार्यालयबाट कर सम्बन्धी सेवा प्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोबार परिर्वतन, अन्तःशुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालयमार्फत काम भएको करदाता सेवा कार्यालय प्रमुख भुसालको भनाइ छ । कोरोना माहामारीका बीच पनि कर दाता सेवा कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । करदाता सेवा कार्यालयले बजार अनुगमन, बक्यौता असुली, सूचना प्रवाह जस्ता काम गरेको हुँदा अनुमानभन्दा २ करोड बढी राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ । कर बुझाउँदा घरमै बसेर मोबाइल बैंकिङ सेवामार्फत कर बुझाउन सकिने भएको छ । २० लाखभन्दा कम कर बुझाउने करदाताले मात्र मोबाइल बैंकिङ सेवामार्फत् कर बुझाउन सकिने कार्यालयले जनाएको छ । कोरोना महामारीका कारण २० लाखभन्दा कम कारोबार गर्नेहरुका लागि ९० प्रतिशत छुटको व्यवस्था रहेको छ । त्यस्तै ५० लाखभन्दा कम कारोबार गर्नेहरु र १ करोडभन्दा कम कारोबार गर्नेहरुका लागि छुटको व्यवस्था रहेको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो ।

साउन मसान्तसम्म अन्तःशुल्क रकम मात्रै बुझाएर नवीकरण गरेमा जरिवाना छुट हुने कार्यालय प्रमुख भुसालको भनाइ छ । कर तिर्नको लागि पहिला पाल्पा जानुपर्ने बाध्यता अत्य भएसँगै घरमै बसेर कर तिर्न पाउँदा नागरिकलाई सहज भएको स्थानीयको भनाइ छ ।