महिलाको भेषमा विमान चढ्ने पक्राउ

7.33k
Shares

टेरनेट, (एजेन्सी) ।

इन्डोनेसियामा एक जना पुरुष आफूलाई आफ्नै पत्नीको रूपमा भेष बदलेर नक्कली परिचय पत्र र नेगेटिभ पीसीआर रिपोर्ट लिएर आन्तरिक उडान तय गरेको पत्ता लागको छ । बुर्का लगाएर आफ्नो योजना सफल पार्ने उनको जुक्ति भने लामो समय टिक्न सकेन ।

राजधानी जाकार्ताबाट नर्थ मालुकु प्रान्तको टेरनेटतर्फ उडिरहेको विमानका एक जना फ्लाइट एटेन्डेन्टले उक्त विमानमा एक जना पुरुषले लुगा फेरिरहेको देखेको प्रहरीले जनाएको छ । विमानबाट अवतरण हुनासाथ ती व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

टेरनेट प्रहरी प्रमुख आदित्य लक्सिमादाले भनेका छन्– ‘ती व्यक्तिले आफ्नी पत्नीका नाममा विमानको टिकट किनेका थिए । उनले परिचय पत्र, पीसीआर परीक्षण परिणाम र खोपको कार्डसमेत पत्नीकै नाममा ल्याएका थिए । अन्य सम्पूर्ण आवश्यक कागजात पनि पत्नीकै नाममा थिए ।’

प्रहरीले उनको कोभिड–१९ परीक्षण गराउँदा परिणाम पोजिटिभ आएको थियो । इन्डोनेसियामा कुल २९ लाख व्यक्ति संक्रमित हुनाका साथै ७७ हजार ५ सय ८३ जनाको ज्यान गइसकेको छ ।