अफगानिस्तानका अधिकांश भूभागमा कफ्र्यु



काबुल, (एजेन्सी) ।

अफगान सरकारले इस्लामिक लडाकु समूह तालिवानलाई शहरहरूमा आक्रमण गर्नबाट रोक्न शनिबार मुलुकका झन्डै सम्पूर्ण भूभागमा कफ्र्यु आदेश जारी गरेको छ । राजधानी काबुल र अन्य दुईवटा प्रान्तबाहेक अन्य स्थानमा बेलुका १० बजेदेखि बिहान चार बजेसम्म हिँडडुल गर्न बन्देज गरिएको छ । अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धन फौज अफगानिस्तानबाट फिर्ता गएपछि दुई महिनायता अफगान फौज र तालिवानबीच संघर्ष चर्किंदै गएको छ ।

तालिवान समूहले कुल भूभागको ५० प्रतिशत कब्जा गरिसकेको अनुमान गरिएको छ । तिनीहरूले सिमाना क्षेत्र र अन्य विकट ग्रामीण भूभागमा नियन्त्रण जमाउँदै गइरहेका छन् । २० वर्षअघि अमेरिकी फौजले अफगानिस्तानमा कब्जा गरेर तत्कालीन कट्टरपन्थी तालिवान सरकारलाई अपदस्थ गरेको थियो । तिनीहरूले अहिले शहरहरूमा आवश्यक वस्तुको आपूर्तिमा अवरोध सिर्जना गर्ने उद्देश्यले प्रमुख राजमार्गहरू पनि कब्जा गरिरहेका छन् । साथै, तालिवान लडाकुहरूले थुप्रै मुख्य शहरहरूलाई घेराबन्दी गरे पनि अहिलेसम्म कुनै पनि शहर कब्जा गर्न भने सकेका छैनन् ।

अफगानिस्तानका आन्तरिक मामिला मन्त्रालयले कुनै पनि अप्रिय घटना हुन नदिन ३१ वटा प्रान्तमा रात्रिकालीन कफ्र्यु लगाइएको जानकारी दिएको छ । पान्जसिर र नान्गारमा भने कफ्र्यु लगाइएको छैन । यसै साता कान्दहार शहरनजिक तालिवान र सरकारी फौजबीच भीषण भिडन्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्