हजारौं दौड प्रतियोगी घोडा मारिएको खुलासा



लन्डन, (एजेन्सी) ।

बीबीसीले हालै गरेको एक अनुसन्धानबाट बेलायत र आयरल्यान्डका वधशालाहरूमा दौडमा प्रयोग गरिने हजारौं घोडा मारिने गरेको पत्ता लगाएको छ । ती मारिने घोडाहरूमध्ये केही कुनै समय घोडादौडमा निकै नाम चलेका स्थापित मालिकबाट तालिमप्राप्त रहेको बुझिएको छ ।

गोप्यरूपमा बीबीसीले गरेको भिडियो रेकर्डिङका कारण बेलायतमा यसरी निर्मम ढंगले वधशालामा घोडा मारिने गरेको खुलासा भएपछि त्यसविरुद्ध नीति–नियमसमेत बनेको बताइएको छ ।

तर, वधशालाले भने आफूबाट कुनै पनि जनावरलाई उत्पीडन नगरेको सफाइ दिएको छ । तर, जनावर अधिकारवादी समूह एनिमल एडले गोप्य ढंगले क्यामेरा जडान गरेर खिचिएका भिडियो फुटेजहरू भने सो वधशालाले नियमहरू मिचेको स्पष्ट प्रमाण साबित भएका छन् ।

गत फ्रेब्रुअरीमा वरिष्ठ घोडा प्रशिक्षक गोर्डन एलियटको एउटा मृत घोडाको पिठ्युँमा बसिरहेको तस्वीर सार्वजनिक भएपछि विश्वको घोडादौड जगतमा तहल्का मच्चिएको थियो । तीनपटक ग्र्यान्ड नेसनल उपाधि जितेका घोडालाई तालिम दिएका एलियटको सो तस्वीरका कारण निकै आलोचना भएको थियो । यही कारण उनलाई आगामी वर्षको ९ सेप्टेम्बरसम्म घोडादौड प्रतियोगितामा निलम्बन गरिएको छ ।
सन् २०१९ यता बेलायत र आयरल्यान्डमा ४ हजार वटाभन्दा बढी पूर्वदौड प्रतियोगी घोडा मारिएको तथ्य खुलासा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्