अफगानिस्तानमा शान्ति सुनिश्चित गर्न भारतले सघाउने



इन्डिया न्युज नेटवर्क ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले अफगानिस्तानको शान्ति र विकासको चाहनालाई साकार गर्न भारतले सहयोग गर्ने बताएका छन् ।
सरकारी सेना र तालिवानबीच भइरहेको झडपबीच अफगानी सरकारले देशको अवस्था नियन्त्रणमा ल्याउन भारतको सहयोगको अपेक्षा गरेको छ । तर, हाल भारत अफगानिस्तानमा आफ्ना सेना परिचालन गर्न चाहिरहेको छैन ।

रणनीतिक साझेदारका रूपमा अफगानिस्तानको शान्तिपूर्ण, लोकतान्त्रिक र समृद्ध भविष्यको चाहनालाई साकार गर्न भारत प्रतिबद्ध छ ।
विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार साप्ताहिक मिडिया ब्रिफिङमा भनेका छन्– ‘सन् २०११ को अक्टोबर महिनामा हस्ताक्षर गरिएको सम्झौतामार्फत भारत अफगानिस्तान द्विपक्षीय सम्बन्ध र रणनीतिक साझेदारी निर्देशित छ । मित्रराष्ट्र र छिमेकी भएको नाताले पनि भारत अफगानिस्तानको शान्तिपूर्ण, लोकतान्त्रिक र समृद्ध भविष्यको चाहनालाई साकार गर्न प्रतिबद्ध छ । भारत अफगानी महिला र अल्पसंख्यक लगायतका सबै पक्षको हितका लागि पनि प्रतिबद्ध छ ।’

जेनेभामा भएको ‘अफगानिस्तान सम्मेलन २०२०’ मा अफगानिस्तानप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धतालाई पुष्टि गर्न विदेशमन्त्री एस जयशंकरले अफगानिस्तानको विकासप्रति भारतको दीर्घकालीन प्रतिबद्धतामा जोड दिएका थिए ।

दुई दशकभन्दा बढी समयदेखि चलिरहेको सत्ताको लडाइमा भारत फस्न चाहँदैन । त्यसैले, भारत हाल अफगानिस्तानमा आफ्ना सेना परिचालन गर्न चाहिरहेको छैन ।

यसै महिनाको अन्त्यतिर अफगानिस्तानका सेना प्रमुख जनरल वली मोहम्मद अहमदजाई तीनदिने भारत भ्रमणमा आउने भएका छन् । भ्रमणका क्रममा उनी थुप्रै अधिकारीसँग भेटवार्ता गर्नेछन् । उक्त वार्तामा भारतीय सेना अफगानिस्तानमा परिचालन गर्ने विषयमा छलफल हुनसक्ने सम्भावना रहेको छ ।

तर, सन् २०२१ जनवरी महिनाको १५ तारिखमा भएको वार्षिक प्रेस सम्मेलनमा भारतीय सेनाका प्रमुख जनरल एम. नरवनेले स्पष्टरूपमा भारतीय सेना अफगानिस्तानमा परिचालन नगरिने बताएका थिए ।

भारतले अफगानी राष्ट्रिय रक्षा तथा सुरक्षा बललाई प्रशिक्षण प्रदान गर्दै आएको छ । भारतीय अधिकारी प्रशिक्षण सैन्य संस्थानहरूमा थुप्रै अफगानी सेनालाई तालिम प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्