निराशामा प्रकाश



देशका सबै नीतिहरु राजनीतिबाटै चल्ने गर्छन् । मूलनीतिका रूपमा रहने राजनीतिमा स्थायित्वको अभाव रहँदा मुलुकका सबै नीतिमा विचलन आउनु स्वाभाविक हुन्छ । त्यसैले नेपाली जनताले राजनीतिक स्थायित्वका लागि मुलुकका वामपन्थी राजनीतिक दललाई झण्डै दुई तिहाइ परिमाणको बहुमत पनि थिए । तर, सत्ताधारी दलभित्र सिर्जना भएका चर्को अभिमान र गहिरो लालचका कारण मूलनीतिमा स्थायित्व आएन, पाँच वर्षसम्म एकै दलले सरकार चलाओस् भन्ने जनचाहना असफल बन्यो ।

पछिल्लो राजनीतिक परिवर्तनको गर्भमा जाने हो भने २००७ साललाई स्मरण गर्नुपर्छ । किनभने यसै वर्ष प्राप्त प्रजातान्त्रिक परिवर्तनका लागि केही वर्ष अघिदेखि राजनीतिक आन्दोलन शुरु भएको थियो । पछि देशमा पटक–पटक आन्दोलन भए । राजनीतिक आन्दोलनसँगै आएको परिवर्तनबाट अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको व्यवस्था लागुभएको छ । परिवर्तनको लागि भएको राजनीतिक परिवर्तनको आन्दोलनमा हजारौंले ज्यान गुमाए, हजारौं घाइते भए । हरेक परिवर्तनमा नागरिकले आफ्नो जीवनमा सुधारको अपेक्षा गर्नु स्वाभाविक थियो, तर बारम्बार जनताले निराशाको अनुभूति गर्नुप-यो । राजनीतिक परिवर्तनबाटै समाज र देश परिवर्तन हुने निष्कर्षसहित हजारौं नागरिक आन्दोलनमा होमिए पनि उनीहरुले आखिरीमा धोका मात्र पाए ।

नागरिकको एउटै मात्र चाहना थियो– देशमा समानता होस्, गरिबी हटोस्, बेरोजगारी नहोस् र देश समृद्ध बनोस् । नागरिकको बलमा ठूल्ठूला राजनीतिक आन्दोलन सफल भएको विश्लेषण गरिए पनि उनीहरुको जीवनमा अपेक्षित परिवर्तन नआएका कारण त्यसलाई सफल भन्न मिल्ने ठाउँ पनि रहेन । देशमा प्रजातन्त्र वा लोकतन्त्र, गणतन्त्र र समानुपातिक समावेशिता आयो भनियो तर नागरिकको जीवनमा उल्लेखनीय परिवर्तन आउन नसकेका कारण सन्तुष्ट हुने अवस्था देखिएन । राजनीतिक आन्दोलनबाट प्राप्त उपलव्धिलाई जोगाउने जिम्मेवारी पाएको राजनीतिक नेतृत्व सत्तामा पुगेपछि देश र जनतालाई छोडेर नातावाद र कमाउधन्दामा लिप्त बन्न पुग्यो । देशभित्र रोजगारी सिर्जना गर्ने विषय अहिलेसम्म राजनीतिक नेतृत्वको प्राथमिकतामा पर्न सकेन । जनतालाई सेवा–सुविधा दिने वाचा खाएर सत्तामा पुगेकाहरुले देशका नागरिकलाई विदेश जान प्रोत्साहित गर्ने कार्यहरु भए ।

राजनीतिक आन्दोलन सफल भए पनि राजनीतिक दलहबीच किचलो देखिएका कारण प्रभावकारी कार्यान्वयन हुन सकेन । देशको विकास नहुनुको मुख्य जड राजनीतिक अस्थिरता रह्यो । पार्टीभित्रको खिचातानी र विवादले प्रतिनिधिसभा दुईपटक विघटन भयो । तर, दुवैपटक सर्वोच्च अदालतले पुनःस्थापित गर्ने फैसला गरिदियो । अहिले सर्वोच्च अदालतले संसद् बचाइदिएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको छ ।सरकार कसको र कुन पार्टीको नेतृत्वमा बन्छ भन्ने विषय मुख्य कुरा होइन । जनताका लागि कुन सरकारले राम्रो काम ग¥यो भन्ने प्रधान प्रश्न हो । हामी लामै समयदेखि आर्थिक, सामाजिक र नैतिक भ्रष्टाचारमा लिप्त भयौं । लोकतन्त्रका लागि आवश्यक पर्ने त्याग, समर्पण र इमानदारी हामीमा विकास हुनै सकेन । अन्ततः राजनीति पुनः सत्ताकै जोडघटाउमै केन्द्रित हुन पुगेको छ । दलिनसम्म चढ्नै लागेको छेपारो पुनः थामको फेदमा पछारिएको छ । असीम निराशालाई चिर्ने नयाँ दिव्य प्रकाशको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्