वीरगन्ज महानगरपालिका पूर्णखोपयुक्त घोषणा

168
Shares

कृष्णउदास खनाल,वीरगन्ज ।

वीरगन्ज महानगरपालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएको छ । नगरसभा गृहमा बिहीबार एक कार्यक्रमकाबीच प्रदेश २ कै पहिलो पालिकाको रुपमा वीरगन्ज महानगरपालिका पुर्ण खोप घोषणा भएको हो ।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का उर्जा तथा सिंचाइ मन्त्री ओमप्रकाश शर्माले वीरगन्ज महानगरपालिकार्लाइ पुर्ण खोप घोषणा गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले प्रदेश २ कै पहिलो पालिकाको रुपमा वीरगन्ज महानगरपालिका पुर्ण खोप घोषणा भएकोमा हर्षित भएको बताउनुभयो । उहाँले महानगरपालिकालाई यो पुर्ण खोपमा मात्र नभई कोरोना संक्रमणबाट जोगिनका लागी सबैभन्दा पहिले सबै नगरबासीलाई खोप लगाउन आग्रह गर्नुभयो ।

जन्मे देखि १५ महिना सम्मका बालबालिकालाइ आवश्यक १२ प्रकारका सबै खोप लगाइ सकेपछि पुर्णखोप घोषणा भएको हो । पुर्णखोप घोषणाका लागि वीरगन्ज महानगरपालिकाको कार्यालयले केही समय पहिले महानगरका ३२ वटै वडामा १६ देखि २३ महिना सम्म उमेर समुहका बालबालिकाहरुको बारेमा २९ हजार १ सय ९३ घरधुरीमा सर्वे गरेको थियो ।

सर्वेका क्रममा १६ देखि २३ महिना सम्म उमेर समुहका बालबालिका २ हजार ६ सय ६१ जना भेटिएका थिए । ती मध्ये तोकिएको अवधी भित्र अर्थात जन्म देखि १५ महिना भित्रमा सबै १२ प्रकारका खोप लगाउने बालबालिकाको संख्या २ हजार ६६ जना मात्र थियो । ५ सय ८७ जना बालबालिकाले भने आवश्यक १२ प्रकारका मध्ये आंशीक मात्र खोप लगाएको भेटिएको थियो । ८ जना बालबालिकाले भने कुनै पनि प्रकारको खोप नलगाएको फेला परेको थियो ।

सर्वेपछि महानगरका ३२ वटै वडामा स्वास्थ्यकर्मी खटाएर खोप लगाउन छुटेका ५ सय ९५ जना बालबालिकालाइ आवश्यक १२ प्रकारको खोप लगाइएको महानगरपालिकाका खोप अधिकृत रितेश जयसवालले जानकारी दिनुभयो । त्यसपछि ३२ वटै वडाहरुलाइ क्रमश पुर्ण खोप वडा पनि घोषणा गरिएको थियो । वीरगन्ज महानगरपालिकाका ३२ वटा वडामा रहेका ९९ वटा खोप केन्द्र र ११० वटा खोप शेसनबाट खोप लगाउने काम हुँदै आएको थियो । यो कामका लागि ४६ जना स्वास्थ्यकर्मी खटाइएको थियो ।

पुर्ण खोप घोषणा कार्यक्रममा वीरगन्ज महानगरपालिका कि उपप्रमुख शान्ति कार्की ,वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला ,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता ,लायन्स क्लबका पूर्व अध्यक्ष संजय खेतान, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंह ,वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा समाजिक महाशाखा प्रमुख अरुण महतो लगायतकाले मन्तव्य राखेका थिए ।