नकारात्मकदेखि सकारात्मक सम्म तुलसीप्रसाद

2k
Shares

काठमाडौं वसुन्धराका तुलसीप्रसाद श्रेष्ठ नकारात्मक र सकारात्मक दुवै किसिमको भूमिकामा जमेर अभिनय गर्छन्। तर, विशेष रुचाइएका छन् नकारात्मक भूमिकामा। छोटो फिल्म र सानो पर्दादेखि ठूलो पर्दासम्मका सबैप्रकारका फिल्म, टेलिसिरियलदेखि म्युजिक भिडियोेसम्म गरी हरेक प्रकारका प्रस्तुतिमा जम्दै आएका उनी स्वयंलाई पनि नकारात्मक भूमिकामा अभिनय गर्न आत्मसन्तुष्टि मिल्छ रे। त्यसैले त ड्रिमगर्ल नामक फिल्मको टाके दादा तथा छोटो फिल्म नशाको सानो काजीको भुमिकाबाट अभिनयप्रेमीमाझ परिचित छन्। २०३६ सालमा वसुन्धरामा जन्मी सानैदेखि अभिनयमा रुचि राख्दै आएका तुलसीप्रसादसँग जमानाको लोकप्रिय हास्य श्रृंखला हिजोआजका कुरादेखि केहीअघिको फिल्म चुरी फुरीका विभिन्न भूमिकामा अभिनय गरेको लामो अनुभव छ। जसका कारण अहिले जस्तोसुकै भूमिकामा अभिनय गर्न पनि सक्षम रहेको उनी बताउँछन्। ‘सानैबाट अभिनयमा रुचि भयो। रुचिअनुसार अवसर पनि पाएँ। रुचि पूरा गर्दै जाँदा अब भने जीवनभर अभिनय गरेर दर्शकलाई मनोरञ्जन दिने सोच छ’ तुलसीप्रसाद भन्छन्।

नेपाल टेलिभिजनको क्रेज बढाउने प्रस्तुतिमध्येको एक टेलिसिरियल हिजो आजका कुराको ८० भाग जतिमा विभिन्न भूमिकामा अभिनय गरी खारिएका उनले पछि कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आएको सोही सिरियलकोे ५० भाग जतिमा पनि अभिनय गर्ने अवसर पाए। यो अवसरको सदुपयोग गर्दै आफूलाई खार्दै लगेका तुलसीप्रसादले नेपाल टेलिभिजनबाट २०६४ सालमा प्रसारणमा आएको टेलिसिरियल आफन्त, २०६९ सालमा सञ्जीवनी, २०७० सालमा हास्य टेलिश्रृंखला झट्का, २०७३ सालमा नेपाल वनबाट प्रसारणमा आएको टेलिसिरियल विश्वास, पन्थ फिल्म प्रोडक्सनद्वारा निर्मित तथा एनभिटी प्लसबाट प्रसारणमा आएको टेलिसिरियल हस्पिटल, इमेज च्यानलबाट प्रसारणमा आएको नेवारी टेलिसिरियल ड्याड सनमा २० भाग जति अभिनय गरेर आफूभित्रको विविधता प्रदर्शन गरे।

अभिनय क्षेत्रमा अगाडि बढ्ने क्रममा उनले २०७० सालमा ठूलो पर्दाको फिल्म मिस्टेकमा खलनायकको भूमिकामा अभिनय गरेर वाहवाही पाएका उनले २०७४ सालमा थाइल्यान्डसम्म पुगेर ड्रिम गर्लमा पनि मुख्य खलनायकको भूमिकामा अभिनय गरेर प्रशंसा कमाए। गत वर्ष अर्थात् २०७७ सालमा मात्रा चुरीफुरी नामक फिल्ममा मेनपावर सञ्चालकको मुख्य भूमिकाबाट उनले प्रशंसा पाए।

तुलसीले टेलिसिरियल र फिल्मका अलावा सर्ट फिल्म र म्युजिक भिडियोमा पनि आफूलाई प्रस्तुत गर्दै आएका छन्। यस क्रममा गायिका अञ्जु पन्तको कसरी म चित्त बुझाऊँ तिमी भन्छौ संसार अर्कै छ र तिमीलाई खुसी पार्न मैले आफ्नो आत्मा मारेको थिएँ बोलको गीतमा मोडलिङ गरे भने नायिका तथा गायिका सारिका घिमिरेको निष्ठुुरी है नौ डाँडा काटेर, नरेन्द्र ‘प्यासी’ को आधुनिक गीत बिरानो भो बस्ने बास तिमीले छोडी दिँदा, गायक खुमन अधिकारी र देवी घर्तीको दोहोरी गीत किन फुल्यो कमल काँडामा लगायतका दर्जनौं गीतको म्युजिक भिडियोमा विभिन्न भूमिकामा अभिनय गरी मोडलिङ गर्दै आएका छन्। नसा नामक सर्ट फिल्मबाट त मुख्य खलपात्रको अवार्ड नै चुमेका छन् ।