‘टावर’ कुर्दै झुन्ड्याइन्छ मोबाइल

602
Shares

हेटौंडा, (नेस) ।

मापदण्ड विकसित मुलुकका आधारमा बनाइने तर त्यसअनुरूप पूर्वाधार विकास नगरिँदा हेटौंडा उपमहानगर क्षेत्रकै ग्राहक नेटवर्क आउने प्रतीक्षामा मोबाइललाई बार्दलीमा झुन्ड्याउन बाध्य छन् । हेटौंडा उपमहानगर क्षेत्रमै मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो ।

सञ्चारको युगका रूपमा रहेको समयमा हेटौंडा–१७ मा रहेको बुंगे गाउँमा मोबाइललाई घरको बार्दलीमा झुण्ड्याएर राख्नुपर्ने बाध्यता छ । मोबाइललाई घरमा झुन्ड्याएर राखिएको देखेपछि घरका एक सदस्यलाई मोबाइललाई किन यसरी झुन्ड्याएर राख्नुभएको भन्दा उहाँले जवाफ थियो– ‘के गर्नु हजुर, झुन्ड्याएर राखेको ठाउँमा त कहिलेकाहीं मात्र टावर आउँछ । आफन्तलाई फोन गर्न पाइन्छ कि भनेर यसरी राखेका हौं ।’

मकवानपुरको सदरमुकाम भनेर चिनिने हेटौंडाका घरमा ल्यान्डलाइन र एडीएसएल कछुवा गतिमा इन्टरनेट सेवा चले पनि भित्री वडामा मोबाइल नेटवर्क र डाटा प्रयोगकर्ताले नेपाल टेलिकमको नेटवर्क राम्रोसँग चल्ने नगरेको नागरिकको गुनासो छ ।

गाउँघरका युवाले डाटा लिएर मोबाइलबाट प्रत्यक्ष भिडियो कल र सम्पर्क गर्न मोबाइल नेटवर्क प्रयोग गर्दै आएका छन् । लामो समयसम्म पनि नेटवर्कमा समस्या आउँदा पनि टेलिकमले सुनुवाइ नगर्दा आफूहरु घरबाहिर रहेका आफन्तबाट सम्पर्कविहीन हुनुपरेको हेटौंडा–१७ कि रमा घलानले गुनासो गर्नुभयो । ‘कुनै समयमा फोनको घण्टी बजिरहेको अवस्थामा हतार–हतार घरबाट ५ सय मिटरको दुरीमा निस्कनुपर्छ । अनि बल्ल उताबाट बोलेको सुनिन्छ । घरभित्रबाट बोल्नु त रहरमात्र हो ।’ –उहाँको भनाइ छ ।

मकवानपुरमा हाल नेपाल टेलिकमले ७० वटाभन्दा बढी टावर राखेको छ । त्यसमध्ये उपमहानगरमा २५ वटा रहेको नेपाल टेलिकम मकवानपुर कार्यालयले जनाएको छ । मकवानपुरमा टावर नटिप्ने समस्या देखिनुमा जंगल तथा जति ग्राहकले टेलिकमको सिम चलाए, त्यहीअनुसार टावरको क्षमता घट–बढ हुने टेलिकमको भनाइ छ ।

कल कायम हुन लाग्ने समय, कल सफलता दर र आफैं कल काटिने दरलाई हेर्दा कम्पनीले तोकिएका मापदण्ड पूरा गरेको देखिँदैन । बारम्बार मोबाइल सेवाको गुणस्तर कमजोर रहेको भन्ने उपभोक्ताको गुनासो आइरहेका बेला प्राविधिक परीक्षणले पनि त्यसलाई पुष्टि गरेको विभिन्न प्रतिवेदनले देखाएको छ ।

टावर र अन्य पूर्वाधारमा कमसल उपकरण प्रयोग हुनु, बढ्दो उपभोक्ता संख्याअनुसार क्षमता वृद्धि नगरिनु, नेटवर्क प्रवाहमा रोकावट गर्ने खालको भूगोल र गुणस्तर कायम गराउन कडा कारबाही नहुँदा टेलिकमले सेवाप्रवाहमा ध्यान नलिएको दाबी छ । मर्मतसम्भार र स्तरोन्नति नहुँदा मोबाइलको गुणस्तरमा सुधार नभएको हो ।

वडा–१७ को बुंगेगाउँमा चेपाङ, तामाङको बाहुल्य छ । उक्त क्षेत्रमा पर्ने करिब १० वटा गाउँमा यस्तै समस्या रहेको स्थानीय भोजबहादुर तामाङले बताउनुभयो । वडा–१६ र १७ को सिमाना रहेको त्रिशूली खहरेबाट अधिकांश खहरेकै मार्ग हुँदै पुग्ने गाउँ हेटौंडा उपमहानगरपालिका भएर पनि निकै विकट छन् ।