बलिउड सौदागर दिलिप कुमारको अवशान

308
Shares

बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा मुम्बईस्थित हिन्दुजा अस्पतालमा बुधबार निधन भएको छ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई करिब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो। उपचारसँगै उनकी अभिनेत्री पत्नी सायरा बानोले उनको रेखदेख गर्र्दै अँएकी थिइन् । दिलिपको आधिकारिक ट्विटर एकाउन्ट सम्हाल्दै आइरहेकी सायराले बेला—बेलामा दिलिपको स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहेकी थिइन्। मंगलबार मात्र सायराल आईसीयूमा रहेका दिलिप कुमारको स्वास्थ्य अवस्थामा सुधार आइरहेकोले अब छिट्टै घर फर्किने भन्दै फ्यानहरूलाई उनको स्वास्थ्यलाभको कामना गर्न अनुरोध गरेकी थिइन्। दिलिपकुमारको निधन भएपछि सारा बलिउड यतिबेला शोकमा डुबेको छ।

बलिउड सेलिब्रेटी तथा उनका फ्यानहरूले दुनियाँभरबाट उनको निधनप्रति दुःख व्यक्त गरिरहेका छन्। दिलिपलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि उनको घरमा कयौं बलिउड सेलिब्रेटी तथा घरबाहिर कयौँ प्रशंसकको भिड लागेको थियो। राजकीय सम्मानका साथ दिलिप कुमारको बुधबार नै अन्तिम संस्कार गरिएको छ।

६० को दशकका प्रख्यात अभिनेता दिलिपलाई ट्रयाजेडी किङको रूपमा चिनिन्छ। सन् १९२२ ११ डिसेम्बरमा पाकिस्तानमा जन्मिएका दिलिपकुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो। मुम्बईमा फिल्म खेल्ने अवसर पाए पनि आफ्नो पिताले फिल्म खेलेको मन नपराउने भएकाले एक निर्देशकको सल्लाहमा पिताले थाहा नपाउन् भनेर उनले आफ्नो नाम परिवर्तन गरी दिलिप कुमार राखेका थिए। सन् १९४४ मा फिल्म ज्वारभाटबाट फिल्मी करिअर शुरू गरेका दिलिपले उक्त फिल्मबाट खासै सफलता भने पाएका थिएनन्। फिल्म जुगनुबाट सफलता पाएपछि दिलिप कुमारले आफ्नो करिअरमा कहिल्यै पछाडि फर्कनुपरेन। उनले दिदर, देवदास, मुगल ए आजमजस्ता फिल्ममा गम्भीर प्रकारको भूमिकामा अभिनय गरेर आफ्नो अलग पहिचान बनाएका थिए। जसका कारण उनलाई ट्रयाजिडी किङको उपमा दिइएको थियो। उनले अभिनेता राजकुमारका साथ सौदागर फिल्ममा गरेको शानदार अभिनयका लागि उनलाई बलिउड सौदागरको उपनाम पनि दिइएको छ। अन्तिमपटक उनी सन् १९९८ मा अमिताभ बच्चनका साथ फिल्म किलामा देखिएका दिलिप कुमार करिब ६५ फिल्ममा अभिनय गरेर दर्शकको मनमा राज गर्न सफल छन्।

सजिलो थिएन बाल्यकाल

भनिन्छ दिलिप कुमारको १२ जना भाइबहिनी भएको र घरको आर्थिक अवस्था पनि कमजोर भएका कारण उनले बाल्यकादेखि नै काम शुरू गरेका थिए। दिलिप कुमारका पिता पेशाबरबाट आफ्ना परिवारका साथ मुम्बई गएकाले पितासँगै त्यहाँ पुगेका दिलिप कुमार मुम्बईमा काम काम नपाएपछि र परिवारमा पनि खटपट चलेपछि कलिलो उमेरमै मुम्बईबाट पुणे गएका थिए। त्यहाँ ब्रिटिस सैनिकको क्यान्टिनमा काम गरेर गुजारा चलाउने गरेका दिलिपले त्यतिबेला महिनाको केवल ६५ रुपियाँ तलब पाउँथे । क्यान्टिनमा काम गर्ने बेला नै दिलिपले आफ्नो सानो स्यान्डवीच काउन्टर खोलेका थिए। त्यतिबेला उनले बेच्ने स्यान्डविच ब्रिटिश सैनिकबीच निकै लोकप्रिय थियो। तर, उनले त्यही बेला भारतीय मानिसहरूको समर्थनमा सैनिकहरूको अगाडि नाराबाजी गरेपछि उनको काम बन्द गराइएको थियो भने उनलाई केही समय जेलसमेत जानुपरेको थियो। जेलबाट मुक्त भएपछि मुम्बई फर्किएर आफ्ना पिताका साथ मिलेर काम गर्न थालेका दिलिपले तकिया बेच्ने काम शुरू गरेका थिए। तर, उक्त व्यापार पनि सफल भएको थिएन।

फिल्मजस्तो वैवाहिक सम्बन्ध

दिलिपको प्रेम र वैवाहिक जीवनको कहानी पनि कुनै फिल्मको भन्दा कम छैन। धेरै युुवतीहरूको मुटुको ढुकढुकी बनेर पनि दिलिपले ४४ वर्षको उमेरमा आफूभन्दा २२ वर्ष कान्छी अभिनेत्री सायरा बानोका साथ सन् १९६६ मा विवाह गरेका थिए। भनिन्छ सायराले १२ वर्षको उमेरदेखि नै अभिनेता दिलिपलाई फ्यानको रूपमा मन पराउन थालेकी थिइन्। आफू पनि कलाकार बनेर दिलिपको साथ विवाह गर्ने हेतुले १६ वर्षकी सायरा आफ्नी आमाको सहयोगमा फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन्। शम्मी कपुरका साथ काम गरेपछि दिलिपको साथ काम गर्ने अवसर मिले पनि सायराको अनुहार निकै कलिलो देखिएको भन्दै दिलिपले उक्त फिल्ममा सायराका साथ काम गर्न अस्विकार गरेका थिए। तर, पछि दिलिपले पनि सायरालाई मन पराउन थालेपछि उनीहरूको विवाह भएको थियो। तर, बिहेको १६ वर्षपछि सन् १९८६ मा सायरालाई डिभोर्स नै नदिई अलग रहेर दिलिपले पाकिस्तानी सुन्दरी आसमा रहमानका साथ गोप्यरुपमा दोस्रो विवाह गरेका थिए। ८० को दशकमा दिलिपले विवाह गरेको चर्चा भयावहरूपमा बाहिर आए पनि उनले भने त्यसलाई नकार्दै आएका थिए। लामो समयपछि उनी स्वयंले दोस्रो विवाह गर्नु आफ्नो गल्ति भएको भन्दै मुख खोलेका थिए। आसमाका साथ असमझदारी बढ्दै गएपछि उनीसँग सम्बन्धविच्छेद् गरी दिलिप फेरि सायराकै साथ बस्दै आएका थिए।

सन्तानका लागि दोस्रो विवाह

पत्नी सायराको हातमा धेरै फिल्म रहेका बेला गर्भवती भएकीले दिलिपले गर्भवती अवस्थामा फिल्ममा काम नगर्न सुझाव दिएका थिए। तर, सायराले आफ्नो ख्याल गर्दै फिल्ममा काम गर्ने भन्दै फिल्म खेल्न जारी राखेकी थिइन्। शुटिङको क्रममा स्वास्थ्य धेरै बिग्रिदै गएपछि सायराको गर्भ खेर गएको थियो। भनिन्छ सन्तान खेर गएको खबर सुनेपछि दिलिप बच्चा जस्तैगरी रोएका थिए। लामो समयसम्म सन्तान वियोगमा रहेका दिलिपले सन्तान सुखकै लागि दोस्रो विवाह गरेका थिए पनि भनिन्छ। तर, दोस्रो विवाहपछि पनि उनले सन्तान सुख भने पाएनन्।