राष्ट्रवासी नेपालीमा मेरो आह्वान



राष्ट्रमा अथाह स्रोतको भण्डार छ । यो स्रोतलाई हाम्रो पसिनाबाटै सदुपयोग गरी मुलुकलाई शक्ति राष्ट्रको रुपमा रुपान्तरण गर्नुपर्छ भन्ने सोचमा रहनुहुने राष्ट्रवासीलाई आ–आफ्नो तर्फबाट सल्लाह–सुझाव लेखी पठाउन अपिल गर्दछु । हामी सबै राष्ट्रवासीलाई थाहा नै छ– पञ्चायत धपायौं, राजा हटायौं, जंगल छिरेकालाई घर छिरायौं, कम्युनिस्ट एक बनायौं । कम्युनिस्ट एकले गरेको व्यवहार पनि थाहा पायौं ।

विनामापदण्डका रोड विस्तारले सिन्धुपाल्चोक बगायो । सुदूर पश्चिममा पनि यस्तै विनामापदण्डका रोड विस्तारले धेरै वडावासी राति सुत्न पनि डराउँछौं भन्छन् । अधिराज्यभरि यस्तै छ । पहाडी जिल्लाका पाखा–पखेरा पहिरोले बढार्दै कता खाँदमा जाकिने हो ? मर्ने त मरिजान्छन् । बाँच्नेलाई पो चिन्ता ।

आज सडक पिच गर्छन्, केही दिनमा नै उप्किन्छ । राजधानी काठमाडौंको मुटुमा रहेको वडा नं. १६ मा हेर्नुहोस्, रोड भत्काउँदै बनाउँदै गरेको देखिन्छ । दोहोरो मात्र नभई चौबरचोटि भत्काएर बल्ल पिच गरेको छ । रोडको अवस्था जताततै त्यस्तै छ । विद्युतीय मेसिन ल्याई सडकमा प्वाल पारेर तार छिराएको त छ, तर गाडीको टायर त्यही प्वालमा भासिन्छ । यस्तै–यस्तै अपूरो कार्यले राष्ट्रको ढुकुटी रित्याउने काम भएको छ । राजधानीको मुटुमा त यस्तो कार्य हुन्छ भने अन्यत्र कस्तो होला ?

राष्ट्रको आयस्रोत ब्रह्मलुट गरी विदेशी बैंकमा थुपार्ने गरेको गुनासो व्यापक सुनिन्छ । अनि जनता चिन्तित नहुने कुरै भएन । यता कोरोना महामारीबाट विचलित जनताको अगाडि राजनीतिक दलहरु आपसी लडाइँ लडिरहेका छन् । यसले गर्दा सारा राष्ट्रवासी चिन्तित छन् भन्ने बुझेको छु । चिन्तित यस कारणले कि नेपाली कांग्रेसका नेतालाई जिम्मेवारी दिँदा यमसीसी भित्र्याऊलान् भन्ने डर, अहिले भइरहेको जिम्मेवार व्यक्तिबाट निरङ्कुश शासन हुने हो कि भन्ने डर । त्यसैले हामी सारा राष्ट्रचिन्तक मिलेर नयाँ विकल्प अपनाऔं ।
राष्ट्रवासी महोदय, हाम्रो राष्ट्र बाइसी–चौबीसी राज्यमा विभाजित थियो । हाम्रा राष्ट्रपिता पृथ्वीनारायण शाहले एकीकरण गरी सिंगो नेपाल बनाउनुभयो । त्यसपछि नेपाल नामले विश्वमा परिचित भयो । आखिर बिस्तारै पछिल्लो समयमा अथाह स्रोतबाट भरिभराउ रहेको राष्ट्र गरिब राष्ट्रको रुपमा विश्वमा परिचित हुन लागेको छ ।

त्यसैले नेपाल र नेपाल बाहिर रहनुभएका सबै नेपाली मिलेर आफ्नो परिश्रमबाट नै यो अथाह स्रोतको सदुपयोग गरौं । राष्ट्रको भण्डार भरौं । धनी राष्ट्रको रुपमा परिचित गराऔं । हाम्रो जन्मभूमिलाई शक्ति राष्ट्रको रुपमा कसरी रुपान्तरण गर्न सकिन्छ ? सबैले सोचौं, मनन गरौं । सल्लाह–सुझावका लागि आह्वान गर्दछु ।

– मीठाराम पौड्याल, जफे–६, दोलखा ।

नेपाल–चीन सम्बन्धको महत्व

नेपाल र चीनबीचको सम्बन्धको इतिहास जति पुरानो छ, त्यसको निकै पछि मात्र नेपाल आएका चिनियाँहरुले यहाँको वस्तुस्थितिका बारेमा पुस्तक लेख्ने गरेको पाइन्छ । अहिलेसम्म प्राप्त भएको वृत्तान्त नेपालमा अंशुवर्माले शासन गरेको समय आसपास र त्योभन्दा अघि चौथो शताब्दीको अन्त्य र पाँचौं शताब्दीको शुरुसम्मको मात्र छ ।

अंशुवर्माले छैटौं शताब्दीको अन्त्यदेखि सातौं शताब्दीको शुरुवातमा नेपालमा शासन गरेका थिए । उनकै शासनकालमा वाङ हुएन त्से नामक चिनियाँ यात्री नेपाल आएका थिए । नेपालबाट फर्किएपछि उनले लेखेको आत्मवृत्तान्तमा अंशुवर्माको दरबार कैलाशकुट भवनको भव्यताको बारेमा व्याख्या गरिएको थियो ।

नेपाल र चीनबीच एउटा सहयोगपूर्ण अवस्था अहिले छ । चीनले नेपालका आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन । आर्थिक सहयोगमा उदारतापूर्वक अगाडि आएको छ । एक पेटी एक सडकको नीतिअन्तर्गत चीन नेपालमा आपसी लगानीको सम्भावनासहित अनुरोध गरिरहेको छ । केही महत्वपूर्ण सम्झौता भएका छन् । नेपालको भारतबाट एकलौटी हुँदै आएको पारवहनको अवस्था समाप्त भएको छ । चीनको भूमि हुँदै मध्यएसियासँग व्यापार विस्तारको सम्भावना खुलेको छ र चिनियाँ बन्दरगाह प्रयोग गर्न सक्ने सम्भावना पनि खुलेको छ ।

चीन संसारको एउटा आर्थिक शक्ति हो । चीन राष्ट्र मात्रै धनी होइन, नागरिक पनि सम्पन्न भएको देश हो । चीनलाई अलग गरेर संसारको आधुनिक व्यवस्था कल्पना गर्न सम्भव छैन । चीन पूर्णरूपमा राजनीतिक स्थायित्व र आर्थिक अनुशासन भएको देश पनि हो । चीन एसियाको नेतृत्व गर्न सक्षम भइसकेको मध्येको देश पनि हो । त्यसैले चीनप्रति अनुदार बन्ने प्रयास गर्नु, चीनसँग लगानीका सम्भावना त्यागेर विकासबाट विमुख बन्नु र चीनलाई सशंकित बनाउनु भनेको आफ्नै अवसर अपहरण गर्नु हो ।

चीनसँगको नेपालको सम्बन्ध खेलाँची गर्ने विषय होइन । एक चीनको नीति घोषित नीति हो, यसलाई बिथोल्न खोज्ने कुनै पनि कदम विश्वासघात हो । अतः वर्तमान सरकारले यसबारे तत्काल स्पष्ट पार्नुपर्छ । यो नागरिकहरुको आवाज हो । सरकार र दलहरुले जे गरे पनि चुपचाप बस्नुपर्ने बाध्यता नागरिकलाई छैन । अन्तर्राष्ट्रिय सम्बन्धमा निरन्तर निष्क्रिय बनिरहेको सरकारले यसबारे तत्काल पहल गरोस् ।

– सुमन पाल्पाली, रसुवा ।

असारे विकास, कहिले होला निकास ?

असारे विकास नेपालको जटिल समस्या हो । देशमा व्याप्त भ्रष्टाचारको जल्दोबल्दो नमुना पनि हो । यस कारण देश विकासमा बाधा पुगिरहेको छ । आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति रोक्न संविधानमा १५ जेठमै बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । पहिले असार मसान्तमा बजेट ल्याउँदा विभिन्न प्रक्रियाका कारण आर्थिक वर्षको अन्त्यमा मात्र विकास खर्च हुने प्रवृत्तिका कारण बजेट ल्याउने समय अगाडि सारिएको हो ।

आर्थिक वर्षका आठ–नौ महिना कानमा तेल हालेर बस्ने अनि जब बर्खा शुरु हुन लाग्छ तब हतारहतार आयोजना छनोट गर्ने र हतारमै आयोजना स्वीकृत गरेर काम गर्ने जुन शैली सरकारी निकायमा छ, त्यसले दशकौँसम्म पनि हाम्रो विकास हुन सक्दैन । आफूले कुनै दोष लिन नचाहने र अरुलाई दोष थोपरेर उम्कने शैलीले खै हाम्रो विकास कता जाने हो ? सम्बन्धित निकायलाई नै थाहा होला ।

असारमा किसानले रोपेको धानले त मङ्सिरमा पक्कै पनि प्रतिफल दिन्छ । तर असारमा जथाभावी रुपमा विकासको नाममा गरेको खर्चले कहिल्लै पनि प्रतिफल दिँदैन । त्यसरी गरेको विकास टिकाउ पनि हुँदैन र अनियमितता हुने सम्भावना प्रबल हुन्छ । असारे विकास खहरेको भेलजस्तै हो, जसको कुनै भर हुँदैन । तसर्थ असारे विकासको छिटो निकास होस् । सम्बन्धित निकाय यस विषयमा गम्भीर बनून् ।

देवेन्द्र शाह, अछाम ।

प्रतिक्रिया दिनुहोस्