कस्तो होला मृत्युको पल भन्दा भन्दै कोरोनाबाट विशारदको निधन

11k
Shares

लेखक, निर्देशक तथा अभिनेता विशारद बस्नेतको कोरोना भाइरस संक्रमणका कारण ३९ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा हालै निधन भएको छ।

करिब एक महिनाअघि कोभिड संक्रमण भएर उपचारपछि निको भए पनि केही दिनअघि उनमा फेरि कोभिड पोजेटिभ देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएको र उपचारका क्रममा निधन भएको अभिनेत्री छुल्ठिम गुरुङले बताइन्। ‘दाइलाई कोभिड संक्रमण हुनु करिब एक महिनाअघि उहाँको ड्याड, त्यसपछि हजुरआमा बित्नुभएको थियो। तर, अहिले उहाँको निधन भयो भन्ने भाउजुबाट खबर सुुन्दा मैले पत्याउन सकिरहेको छैन। करिब एक महिनाअघि दाइले मलाई कोरोना संक्रमण भयो भनेर म्यासेज गर्नुभएको थियो। त्यसपछि मैले लगातार म्यासेज गर्दा पनि सिन भएको थिएन’ छुल्ठिमले नेपाल समाचारपत्रसँग कुरा गर्दै भनिन्।

विशारदले करिब दुई महिनाअघि आफ्नै नामको युट्युब च्यानलमा यमराजको दरबार नामक एक भिडियो अपलोड गरेका थिए। कोरोनाको समयमा आफूले स्कुलमा साथीहरूबाट सुनेको लाइन फेरि दोहोर्‍याउन मन लागेको भन्दै उनले भिडियोमा भनेका थिए ‘कस्तो हुन्छ होला मेरो मृत्युको त्यो पल? कोही हाँस्ने होला कोही रुने होला। सेतो कात्रोले ढाकेर मेरो लासलाई लैजानेछन् स्मशानमा, चितामा राख्नुभन्दा अघि पनि त्यो कात्रोलाई बगाइदिनेछन् पानीमा। कस्तो हुन्छ होला मेरो मृत्युको त्यो पल? जीवन फर्केर आउँदैन इन्जोय गर्नुस्। जति समय छ आफ्नो फेमिलीसँग इन्जोय गर्नुस्, फेमिलीलाई एकदम माया गर्नुुस्, एकमद केएर गर्नुस्, यु नेभर नो तपाईंको समय कहिले आउँछ र कहिले यमराजले तपाईंलाई बोलाउँछ।’

भारतमा जन्मेका विशारदले भारत तथा नेपालमा विभिन्न नाटकमा अभिनय तथा अभिनय प्रशिक्षण गराउँदै आएका थिए। उनको अभिनय रहेको १२ दुर्वाशा नाटक निकै चर्चित थियो। उनले मण्डला थिएटरमा क्लाउन एट वर्क नामक कार्यशाला सञ्जालन गरेका थिए भने एभरेस्ट फिल्म एकेडेमीमा अभिनय पढाउँदै आएका थिए। दुई दशक लामो रंगमञ्चको अनुभवपछि मिस्टर भर्जिनबाट फिल्म निर्देशन यात्रा शुरू गरेका थिए भने मिस्टर भर्जिनको सिक्वेलको तयारीमा थिए। यसका साथै मराज रोशका साथ फिल्म न यता न उता निर्देशन गरेका थिए भने ताण्डव, दुई रुपैयाँ, सुश्री सम्पत्तीजस्ता फिल्ममा अभिनय गरेका थिए। हेटौंडामा रहेको उनको परीवारमा आमा श्रीमती एक छोरा र एक छोरी छन्। उनको गत शुक्रबार दाहसंस्कार गरिएको छ।