खोप र वैदेशिक रोजगारी



सरकारले आफ्ना नागरिकलाई सहजै खोप उपलब्ध गराउन नसक्दा वैदेशिक रोजगारीमा जानेहरू समस्यामा छन् । गन्तव्य मुलुकहरूले खोपलाई शर्त बनाएपछि नयाँ र बिदामा आएका नेपाली रोजगारविहीन बनेका छन् । रोजगारी पक्का भएका नेपालीहरु वैदेशिक रोजगारीमा जान सकिरहेका छैनन् । विभिन्न देशमा कामदार पठाउने प्रक्रिया स्थगित भएको छ । खोप नलगाएका देशका कामदार गन्तव्य मुलुकहरूको प्राथमिकतामा परेका छैनन् । खोप व्यवस्थापनको नभएकोले वैदेशिक रोजगारी धराशयी बन्न थालेको छ ।

पछिल्लो समय रोजगारदाता मुलुकबाट भिसा आएर र श्रम स्वीकृति पाइसक्दा पनि खोप लगाउन नपाएकाहरू खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि जान पाएका छैनन् । नियमित अन्तरराष्ट्रिय उडान खुला भए पनि भिसा लगाएर बसेका करिब ३५ हजार नेपाली खोप लगाउनबाट वञ्चित भएकाले रोजगारीका लागि गन्तव्य मुलुक जान पाएका छैनन् । कोरोना महामारी बढेपछि नेपालीको आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपालबाट खोप लगाएका र क्वारेन्टाइनमा बस्ने शर्तमा मात्र कामदार लगिरहेका छन् । कुवेतले आउँदो साउन १७ गतेदेखि खोप लगाएका कामदार मात्र लिदै छ । त्यस्तै कोरियामा पहिलो लकडाउनपछि नियमिततर्फ ५ हजार र अन्य एक हजार गरी ६ हजारको कम्पनीसँगको सम्झौतापत्र आएको थियो । सरकारको लापरबाहीले कोरिया रोजगारी अवरुद्ध बन्यो । कोरियाबाट मात्रै वार्षिक रूपमा झन्डै ६३ अर्ब रुपियाँ रेमिट्यान्स आउने गरेको छ । नेपालले खोप उपलब्ध नगराएसम्म यूएईले कामदार लिने सम्भावना देखिंदैन । बायोटेक, स्पुतनिक– ५, सिनोफार्म, अक्सफोर्ड– अस्ट्राजेनेकाको खोपलाई मात्रै त्यहाँ मान्यता दिइएको छ । अक्सफोर्ड–अस्ट्राजेनेकाको कोभिसिल्ड खोप पहिले भारतबाट ल्याइए पनि हाल उपलब्ध छैन । सिनोफार्मको भेरासिल खोप नेपालमा ल्याइए पनि पर्याप्त छैन । कोरोना संक्रमणको पहिलो लहर देखिएलगत्तै नेपालबाट कामदार नलगेको कुवतेले आउँदो साउन १७ गतेदेखि भने खोप लगाइसकेका कामदार आउन पाउने सूचना जारी गरेको छ । तर कुवेत जान त्यहाँको सरकारले अनुमोदन गरेका अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सनको खोप लगाउनुपर्नेछ । सबैभन्दा बढी नेपाली कामदारको माग भइरहेको साउदी अरबले एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रु नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ । अर्कोतर्फ रोजगारदाता मुलुकले मागअनुसार कामदार पठाउन नसक्दा नेपालका लागि कोटा गुम्ने आशंका बढ्दै गएको छ । कोरोनाको असरले यो आर्थिक वर्ष उसै पनि श्रमिकको माग निकै घटेको छ । जेठसम्म जम्मा १ लाख ४० हजार श्रमिकको माग आएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशत कम हो । निषेधाज्ञामा एक महिनासम्म नियमित उडान ठप्प हुँदा पनि वैदेशिक रोजगारी प्रभावित भयो । यसको असर आगामी दिनमा विप्रेषणमा पर्ने देखिन्छ ।

अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका युवाले पठाएको विप्रेषणबाटै मुलुकको अर्थतन्त्र चलिरहेको छ । तर कारोनाका कारण एक वर्षमै पाँच लाखभन्दा बढी श्रमिक स्वदेश फर्किसकेका छन् । यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या भने निकै न्यून छ । खोपका कारण श्रमिक पठाउन नसक्ने हो भने अर्थतन्त्रमै असर पर्ने पक्का छ । यस समस्यालाई सरकारले गम्भीरताका साथ लिएर खोपको बन्दोबस्त गर्न कुनै कसर बाँकी राख्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस्