सामान्य अंकले नेप्सेमा गिरावट


काठमाडौं, (नेस) ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ४८ अंकले घटेर २८३४ दशमलव ५१ बिन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । यस दिन कुल २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार कित्ता शेयर ५ अर्ब ५ करोड ३५ लाख रुपियाँमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ५७ लाख रुपियाँको कारोबार भएको थियो । साथै नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ४६ लाख, माथिल्लो तामाकोसीको १६ करोड २४ लाख, हिमालयन डिस्टिलरीको १३ करोड ६४ लाख र नेशनल हाइड्रोपावरको १३ करोड ३४ लाख रुपियाँको कारोबार हुँदै अग्रस्थानमा रहेका छन्।

समग्र परिसूचक ओरालो लागे पनि गुडबिल फाइनान्सको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।त्यस्तै ओरियन्टल होटलको शेयर मूल्य ८ दशमलव ४७, सीईडीबी हाइड्रोपावरको ७ दशमलव २५, कर्पोरेट डेभलपमेन्ट बैंकको ६ दशमलव १६ र नेपाल फाइनान्सको ४ दशमलव शून्य ३ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै, माछापुच्छ«े बैंकको ऋणपत्र, एसबीआई बैंकको ऋणपत्र, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले अरु कम्पनीका शेयरधनीले भन्दा बढी गुमाएका छन् ।

आइतबार कारोबार भएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक ओरालो लाग्दा तीन समूहको परिसूचक भने बढेको छ । जसमध्ये सबैभन्दा बढी होटल तथा पर्यटन समूह रहेको छ । सो समूहको सूचक ८६ दशमलव ३८ अंकले वृद्धि भएको छ । यस्तै अन्य समूह १५ दशमलव शून्य १ र सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य २ अंकले बढेको छ । घटेका समूहमा बैंकिङ समूह ६ दशमलव ९, व्यापार समूह १७ दशमलव ६२, विकास बैंक समूह ४५ दशमलव ४६, जलविद्युत् समूह ३ दशमलव ३५, वित्त समूह ३९ दशमलव २६, निर्जीवन बीमा समूह ११९ दशमलव ७९, उत्पादन समूह २४ दशमलव ४२, लघुवित्त समूह २५ दशमलव ८६, जीवन बीमा समूह ४४ दशमलव ९९ र लगानी समूह शून्य दशमलव ४५ अंकले बढेका छन् ।