सुधारगृहका सञ्चालक नै लागूऔषधसहित पक्राउ



नेपाल समाचारपत्र, हेटौंडा ।

लागूऔषधको दलदलमा फसेकाहरुलाई सुधार गर्ने उद्देश्यले स्थापित एक संस्थाका सञ्चालकहरु नै लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरीले शुक्रबार दिउँसो करिब ३ः३० बजे हेटौंडा–९ लामसुरेस्थित दीपकला प्रतिष्ठान (सुधार केन्द्र) का सञ्चालकद्वयलाई गाँजासहित पक्राउ गरेको हो ।

दुव्र्यसनमा फसेका व्यक्तिलाई सुधार गर्ने उद्देश्यले राखिने सुधार केन्द्रकै सञ्चालकको साथबाट लागूऔषध गाँजा भेटिनु रहस्यमय रहेकाले थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

अनुगमनका क्रममा सुधार केन्द्र सञ्चालकद्वय राजीव नरसिंह श्रेष्ठ र जोएल श्रेष्ठ पक्राउ परेका हुन् । उनीहरु बस्ने कोठा चेक गर्दा सञ्चालक हेटौंडा–४ बस्ने वर्ष ३५ का राजीव र हेटौंडा–९ बस्ने वर्ष २८ को जोएलसँगै बसिरहेको अवस्थामा उनीहरुउपर शंका लागेर चेक गर्दा सोही कोठाबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

सञ्चालक राजीवले लगाएको पाइन्टको खल्तीमा प्लास्टिकले बेरेर लुकाइराखेको लागूऔषध गाँजा २ ग्राम र कोठाको भित्तामा झुन्डाइएको ज्याकेटमा लागूऔषध गाँजा १ ग्राम गाँजासहित श्रेष्ठद्वयलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अटोमा ११ किलो गाँजा

मकवानपुरमा प्रहरीले एक अटोबाट करिब ११ किलो गाँजा बरामद गरेको छ । आइतबार दिउँसो करिब सवा १ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–८, सिमपानीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा अटो र चालकलाई नियन्त्रणमा लिएको हो ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना२ह ३४६८ नम्बर अटो चेक गर्दा अटोमा लुकाई ल्याएको लागूऔषध गाँजा १० किलो ७ सय ४० ग्राम फेला परेको हो । अटोचालक मकवानपुरको राक्सिराङ गाउँपालिका–८ बस्ने वर्ष २६ का सुदीप मोक्तानलाई गाँजा र अटोसहित नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्