उद्धार गरिएका बालबालिकालाई परिवारको जिम्मा



अर्जुन बोहरा, हुम्ला ।

काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीस्थित लाइट फर नेसनल बालगृहमा रहेका हुम्लाका ९ बालबालिकालाई हिमाली नवीन समाज नामक संस्थाले उद्धार गरी आइतबार उनीहरुको अभिभावकलाई जिम्मा लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहवरमा अदनचुली गाउँपालिका–६ लमही घर भएका ९ वर्षका २ बालक र १० वर्षीय बालिका गरी ३ जना टमटा थरका बालबालिका रहेको हिमाली नवीन संस्थाका प्रतिनिधि प्रभुजन शाहीले जानकारी दिनुभयो । त्यसै गरी, सो गाउँपालिका पाल्सा घर भएका ९ वर्षीय गोपाल (नाम परिवर्तन) र ७ वर्षीय निर्मला (नाम परिवर्तन) टमटा थरका रहेका छन् । अदनचुली गाउँपालिका–५ काँके निवासी ९ वर्षीय, र १२ वर्षीया शाही थरका रहेका छन् । खार्पनाथ गाउँपालिका–१ कोगोप्पाका १६ वर्षीय विक थरका छन् ।

सर्केगाढ गाउँपालिका–२ निवासी जसबहादुर विक भन्ने शिक्षकमार्फत लाइट फर नेसनल बालगृहमा कक्षा १२ सम्म निःशुल्क पढाउने भनेकाले पठाएको अभिभावले बताएका छन् । राष्ट्रिय बालअधिकार परिषद्, ताकेश्वर नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र (१०४) र प्रहरी चौकी धर्मस्थलीको संयुक्तको टोलीले ८ जना बालबालिका र महनगरीय प्रहरी वृत्त नयाँबानेश्वरले काठमाडौँ महानगरपालिका–१० इन्द्रेणी फुडल्यान्ड नजिक सडकबाट १ जना बालकलाई उद्धार गरी २०७७ चैत ९ गते हिमाली नवीन समाज नामक संस्थालाई जिम्मा लगाएको थियो ।

राष्ट्रिय बालअधिकार परिषद्लगायतको संयुक्त अनुगमन गर्ने क्रममा उक्त बालगृहमा नेपाल सरकारको बालगृह सञ्चालनसम्वन्धी मापदण्ड–२०६९ विपरीत सञ्चालनमा रहेको पाइएपछि त्यहाँ रहेका बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाउने निर्णय गरिएको थियो ।

पछिल्लो समय बालबालिकाहरुलाई निशुल्क पढ्न–लेख्न र बस्न दिने प्रलोभन देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने र अभिभावकहरुबाट समेत रकम असुल गरेको देखिएको छ । आफना २ दुई बच्चालाई कक्षा १२ सम्मा पढाइदिन्छु भनेर १ लाख लिएको अदनचुली–६ निवासी लालबहादुर शाहीले दुःखेसो पोख्नुभयो ।

त्यसै गरी, जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले उद्धार गरेका बालबालिकालाई ५ हजार बराबरको स्टेसनरी सामग्री बालबालिकालाई प्रदान गर्नुभएको छ । हिमाली नविन समाज हुम्लाले पनि बालबालिकालाई झोलासहित कापीकलम सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्