विराटलाई उपचार शुल्क नदिन प्रशासनको पत्र



हरिहर नेपाल, विराटनगर ।

विराट मेडिकल कलेजले कोरोना संक्रमितको उपचारको शुल्क दाबी गरेअनुसार छानबिन नगरी भुक्तानी नदिन जिल्ला प्रशासन कार्यालय मोरङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजले कोरोना संक्रमितको उपचार गर्दा बिरामीसँग चर्को शुल्क लिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले शोधभर्ना नदिन मन्त्रालयलाई पत्र लेखेको हो ।

मेडिकल कलेजले वैशाख १२ गते मन्त्रालयसँग कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरेको थियो । तर, सम्झौतापछि पनि कलेजले बिरामीका आफन्तसँग शुल्क लिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको थियो । प्रशासनले अनुगमन गर्दा पनि चर्को शुल्क लिएको देखिएपछि स्पष्टीकरण सोधेको थियो । तर, चित्तबुझ्दो जवाफ नपाएपछि असार ६ गते दोस्रो स्पष्टीकरण सोधेका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले असार १७ गते भुक्तानी रोक्न मन्त्रालयलाई सिफारिस गर्नुभएको हो । सरकारसँग निःशुल्क उपचार गर्ने सम्झौता गरे पनि आफ्ना बुबाको उपचार गर्दा चर्को शुल्क लिएपछि सुनसरी इनरुवाका नीतेश मेहताले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको थियो । मेहताको उजुरीपछि प्रमुख जिल्ला अधिकारी निरौलाले उपचारका नाममा लिएको शुल्क फिर्ता गर्न लिखित निर्देशन दिनुभएको थियो । तर, कलेजले शुल्क फिर्ता गर्न नसक्ने बताएको छ ।

कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेका निजी मेडिकल कलेज र अस्पतालहरूले संक्रमितको उपचारमा लागेको रकम भन्दै स्वास्थ्य मन्त्रालयसँग मनपरी ‘क्लेम’ गरेका छन् । विराट मेडिकल कलेजले शुल्क लिएर उपचार गरेका बिरामीलाई निःशुल्क उपचार गरेको भन्दै रकम भुक्तानीको माग गरेको खुलेको छ । अस्पतालहरूबाट आएको दाबीमा स्वास्थ्य मन्त्रालयले उपचार गरेका बिरामी र परिवारका सदस्यसँग ‘क्रस चेक’ गरेको थियो । जसमा अस्पतालहरूले बिरामीसँग उपचार शुल्क असुलेर मनपरी ‘क्लेम’ गरेको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार विराट मेडिकल कलेजले पेइङमा बिरामी भर्ना गरेर मन्त्रालयमा निःशुल्क उपचार सेवा दिएको भन्दै रकम माग गरेको छ । १० जना बिरामीको निःशुल्क उपचार गरेको भन्दै भुक्तानीका लागि निवेदन दिएको छ । जब कि स्वास्थ्य मन्त्रालयले ‘क्रस चेक’ गर्दा ती बिरामीबाट अस्पतालले ६४ लाख ५३ हजार रुपियाँ उठाइसकेको छ । इन्दु कार्कीले विराट मेडिकल कलेजमा २५ दिन उपचार गराउनुभएको थियो  । आईसीयूमा राखेर उपचार गरेबापत अस्पतालले उहाँसँग २० लाख शुल्क उठाएको थियो ।
तर, स्वास्थ्य मन्त्रालयमा गरिएको दाबीमा कार्कीलाई ६ दिन आईसीयूमा राखेर निःशुल्क उपचार गरिएको भन्दै रकम माग गरिएको छ । विराटले प्राप्त गर्नुपर्ने रकम भने निवेदनमा उल्लेख गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्