प्रहरी कार्यालय पस्यो बाढी हतियार र थुनुवालाई अन्यत्र सारियो



गोकुल घोरसाइने, बारा ।

अविरल वर्षापछि आएको बाढी पसेपछि निजगढस्थित इलाका प्रहरी कार्यालयमा रहेका हतियार सुरक्षाका अन्यत्र सारिएका छन् । शुक्रबार रातीदेखि परेको निरन्तरको वर्षाका कारण शनिबार बिहान आएको बाढी मूल गेटबाट पसेपछि इलाका प्रहरी कार्यालय निजगढ डुवानमा परेको छ ।

बाढीले डुवानमा परेरपछि प्रहरी हिरासतमा रहेका ४ जना थुनुवा र हतियार बाहिर पठाइएको छ । बाढीले कार्यालय डुवानमा परेर कोत घर र थुनुवा कोठामा समेत पानी पसेपछि सुरक्षाका लागि इलाका प्रहरी कार्यालय कोल्हबीमा पठाइएको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक शंकरप्रसाद चौधरीले बताउनुभयो ।

मूल गेटबाट पसेको बाढी कार्यालयको दक्षिणतर्फको पर्खाल भत्काएर बाहिर निस्किएको छ । वर्षा रोकिएपछि दिउँसोबाट बाढी पनि कम भएको निरीक्षक चौधरीले जानकारी दिनुभयो । । बाढीले भान्सा घरसमेत जलमग्न भएपछि प्रहरीको सामुहिक मेस पनि सञ्चालनमा आउन नसकेको छैन । मेस सञ्चालन गर्न नसकिएपछि प्रहरी जवानलाई स्थानीय होटलमा पु¥याएर खाना खुवाइएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

त्यसै गरी, बाढीले निजगढका विभिन्न बस्ती पनि डुवानमा परेका छन् । बाढी पसेर नगरपालिकाकाको वडा नम्बर ६, ७, ८ र ९ का सयौं घरहरु डुवानमा परेका हुन् । दर्जन भन्दाबढी घरभित्र बाढी पसेर क्षति पुगेको छ । निजगढ नगरपालिकाले पछिल्लो समय निर्माण गरेको सडकमा नालाको राम्रो प्रबन्ध हुन नसकेका कारण नगरमा बाढी र डुवानको समस्या उत्पन्न भएको स्थानीय गोविन्द आचार्यले बताउनुभभो ।

नालाको प्रबन्ध नगरी जथाभावी निर्माण भएका सडकका कारण बाढीको प्रकोप बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार निर्माण गरिएका केही नाला पनि बस्ती भन्दा अग्लो स्थानमा छन् । ‘बस्ती भन्दा गहिरो पारेर नाला बनाइनुपर्नेमा अधिकांश नाला बस्ती भन्दा माथि अग्लो स्थानमा छ’, आचार्यले भन्नुभयो– ‘अनि बाढीले बस्ती डुवानमा नपारेर के गर्छ ?’ उहाँको सडक निर्माणसँगै पानीको निकासमा पनि ध्यान दिनुपर्ने राय छ ।

प्रतिक्रिया दिनुहोस्