डुबानमा परेको प्रहरी चौकी स्थानान्तरण



मिला दरै, तनहुँ ।

बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेको कार्याल डुबानमा परेको छ । निरन्तरको वर्षापछि चुँदीखोलामा आएको बाढीको डुबानमा परेको इलाका प्रहरी कार्यालय स्थानान्तरण गरिएको छ ।

कार्यालयको तल्लो भाग (पहिलो तला) मा बाढी पसेर जलमग्न भएकाले सोही ठाउँ नजिकै रहेको निर्माणाधीन तरकारी तथा फलफूल केन्द्रमा तत्कालका लागि स्थानान्तरण गरिएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । उक्त कार्यालयबाट डुम्रेबासीलाई २८ जना सुरक्षाकर्मी सेवा प्रवाह गर्दै आएका छन् ।

बाढीले कार्यालयमा थुपारेको गेग्राङलाई हटाउने काम भइरहेको उहाँले बताउनुभयो । बाढी पसेर कार्य सम्पादन गर्न अप्ठेरो परेकाले बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले तत्कालका लागि अस्थायी कार्यालय राख्नका लागि उक्त स्थानको व्यवस्था गरिदिनुभएको प्रहरी निरीक्षक भुसालले बताउनुभयो ।

डुम्रे क्षेत्रमा आएको चुँदीखोलाको भेलले बजारका धेरै व्यक्ति घरहरुमा क्षति पुर्‍याएको छ । खोलाको क्षेत्रलाई मिचेर बनाइएको संरचनाहरु विशेष गरेर डुबानमा पर्नुका साथै माटो, ढुंगा, बालुवा र काठहरु थुप्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्