सेनाद्वारा सुत्केरीको उद्धार



सरस्वती न्यौपाने, रसुवा ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना विष्णु दल गणले एक सुत्केरी महिलाको उद्धार गरेको छ । गोसाइँकुण्ड गाउँपालिका–५ ठूलो स्याफ्रु निवासी ३२ वर्षकी बिबिरानी तामाङलाई उद्धार गरिएको हो ।

चोलाङपाटिस्थित गोठमा रहेको अवस्थामा सुत्केरी व्यथाले च्यापेपछि वर्षाले डिँड्ने बाटो अप्ठेरो रहेको अवस्थामा पनि सेनाले स्टेचरमा बोकेर धुन्चे अस्पताल पुर्‍याएको थियो ।

बीच जंगलमा सुत्केरी व्यथाले छट्पटिरहेको र अस्पतालसम्म लैजाने कोही नभएपछि चन्दनबारीमा रहेको नेपाली सेनाको पोस्टलाई खबर गरेको बिबिरानीको भाइ रेन्जेन तामाङले बताउनुभयो । तत्कालै १० जना सेना पुगेर जिल्ला अस्पताल पु¥याएकोमा उहाँले सेनालाई धन्यवादसमेत दिनुभयो ।

समयमा नै अस्पताल ल्याइएकाले उपचारपछि बालिकाको जन्म भएको तथा आमा र बच्चाको स्वास्थ्य समान्य रहेको जिल्ला अस्पतालका सिनियर अनमी हिमालय भट्ट बताउनुहुन्छ । सुत्केरी व्यथा बुधबार राति लागेको र बिहीबार दिउँसो बच्चा जन्मिएको भाइ तामाङको भनाइ छ ।

‘अत्यधिक वर्षा त्यसमाथि रातको समय, सुत्केरी व्यथाले छट्पटिएकी महिलाको उद्धार गर्न सम्भावना थिएन’, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले भन्नुहुन्छ– ‘यस्तो जोखिम अवस्थामा पनि नेपाली सेनाले मानव धर्म निभाएकोमा प्रशंसनीय छ ।’

प्रतिक्रिया दिनुहोस्