नेप्से दोहोरो अंकले बढ्यो


काठमाडौं, (नेस) ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १९ दशमलव १२ अंक बढेर २८४३ बिन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६ दशमलव ३३ अंक बढेर ५२८ दशमलव ७१ बिन्दुमा पुगेको छ।

यस दिन २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार कित्ता शेयर ६ अर्ब ७० करोड ७७ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन कारोबारमा आएका १३ समूहमध्ये १२ समूहको परिसूचक बढेको छ । यस दिन होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९४ प्रतिशत बढेको छ। त्यस्तै विकास बैंकको ३ दशमलव ६३ प्रतिशत, वित्तको २ दशमलव ९४ प्रतिशत, अन्य समूहको १ दशमलव ७३ प्रतिशत र लगानीको १ दशमलव १५ प्रतिशत बढेको छ। बाँकी सात समूहको वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन निर्जीवन बीमा समूहको परिसूचक भने शून्य दशमलव शून्य ४ प्रतिशत घटेको छ।

बिहीबार ओरियन्टल होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९ दशमलव ९७ प्रतिशतले बढेको छ। त्यस्तै ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र गुडविल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कारोबार रकमका आधारमा यस दिन नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको ३० करोड ४४ लाखभन्दा बढीको शेयर कारोबार भएको छ।